Logo

प्रधानन्यायाधीश जबरा र महासचिव गौतमबीच दूषित साँठगाँठ रहेको शम्भु थापाको आरोप



काठमाडौं, २३ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमबीच दूषित साँठगाँठ रहेको आरोप लगाएका छन् । संसद्का महासचिव गौतमले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको भन्दै जारी गरेको पत्रका सम्बन्धमा परेको रिटमा आज (शुक्रबार) बहस गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।

उनले जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र दिनुलाई ‘राजद्रोह’ को संज्ञा मेत दिए । उक्त रिटमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलगायतले बहस गरेका हुन् ।

संसद सचिवालयका महासचिव गौतमले जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालत प्रशासनलगायत सम्बन्धित निकायमा पठाएपछि अहिले यो विषय तातेको छ । जबरा भने उक्त पत्रको आधारमा सर्वोच्च अदालतमा नियमित काममा फर्कन चाहन्थे । तर, बारको अगुवाईमा कानून व्यवसायीहरुले मूल गेटमै धर्ना दिएपछि उनको उक्त प्रयास असफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot