Logo

डा.पजियारले राखे डबल ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’, मेमोरी किङको नाममा केहीले भ्रम फैलाएको गुनासो (भिडिओ)



काठमाडौं, २३ मंसिर । दुईपटक स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा.नवल पजियारले सही व्यक्तिको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नक्कली मेमोरी किङहरुले गर्दा वास्तविक मेमोरी किङहरु ओझेलमा परेको टिप्पणी गरेका हुन् ।

जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा. पञ्जियारले १९ डिसेम्बर २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका थिए । पजियारले पुनः दोस्रोपटक २०२२ मा एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर नयाँ किर्तिमान राख्न सफल भएका थिए ।

उनको दोस्रो रेकर्डसँगै उनी संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये दोस्रो व्यक्ति भएका छन् । विश्वसामु नेपाललाई चिनाउन गरेको सफल प्रयासलाई सारा जनतालाई जानकारी दिन खोजेको उनले स्पष्ट पारे । दोस्रो पटक २०२२ रकर्ड राखेर उनले आफू गिनिज बुकमा डबल रेकर्ड राख्ने संसारको पहिलो नेपाली भएको समेत दाबी गरे । उनले भने,‘मैले नेपाललाई विश्वसामु चिनाउने काम गरेको छु । ज–जसले बजारमा भ्रम फैलाएका छन् तिनीहरुलाई बोलाएर प्रमाणपत्र, क्षमता, स्किल्स बारे पत्रकारले सोध्नुपर्यो ।’ आफू मेमोरीकिङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि बताए ।

उनले नभएको रेकर्डलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरे । सोझा जनताको मौकाको फाइदा उठाउन नहुने उनको भनाइ थियो । आफूमा भएको क्षमता शैक्षिक क्षेत्रभित्र पर्ने भन्दै उनले यसमा व्यापार घुसाउन नहुने तर्क गरे ।
उनले कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भन्ने गरेको उल्लेख गर्दै योगदानका आधारमा पनि जनताले पहिचान गर्नुपर्नेमा जोड दिए । उनले उक्त विधामा ग्रिनिज बुकको रेकर्ड र गुगलमा भेटिने नाम आफ्नो मात्रै भएको सुनाए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गिनिज बुक संसारभरको रेकर्डहरुको संगालो भएको बताउँदै मेमोरी पावरले राम्रो निर्णय गर्न प्रेरित गर्ने बताएका छन् । उनले भने,‘त्यो रेकर्डको संगालोमा आफूलाई समाविष्ट गर्ने लक्ष्य लिएर काम गर्नेहरुका लागि त्यो उपलब्धी आफैमा महत्वपुर्ण हुन्छ । विशिष्ट कार्य र योगदान गर्नसक्ने, विज्ञता हाँसिल गर्नसक्ने व्यक्तिहरुबाट समाजले अपेक्षा पनि गरेको हुन्छ ।’

उक्त रेकर्डले एक व्यक्तिको आत्मसन्तुष्टि भन्दापनि समूदायको योगदानमा कसरी ढाल्न सकिन्छ भन्ने सन्दर्भमा विज्ञहरुले सोचिदिने हो भने समाज पनि लाभान्वित हुने धारणा राखे । प्रविधिको प्रयोगले दिमाग नै डल बन्दै गएको उनको भनाइ थियो । पोखरेलले प्रविधिले दिमाग बिग्रदै गएको र चुनौती थपिएको अवस्थामा मेमोरी पावर बढाउन त्यही किसिमको परिवर्तनका लागि डा.पजियारको क्षमता महत्वपुर्ण रहेको बताए ।

प्रविधिभन्दा मस्तिष्कको प्रयोग नै जीवन्त हुने भन्दै उनले प्रविधिमा आश्रित हुने दिमागको खतरा बढ्दै गएको सुनाए । प्रविधिबाट मुक्त भएर आफ्नो दिमागलाई चलायमान बनाउन सकिन्छ भन्ने कुरा नयाँ पुस्ताले जनाउन सक्ने विश्वास व्यक्त गरे । मेमोरी पावरले राम्रो निर्णय गर्नका लागि प्रेरित गर्ने उनले तर्क गरे ।

उनले राष्ट्र र समाजले विज्ञहरुको पहिचान गर्न सक्नुपर्नेमा जोड दिए । उनले थपे,‘उनीहरुको क्षमता अनुसारको योगदान दिनसक्ने वातावरण सिर्जना गर्न र त्यहीअनुसारका समाजमा संरचनाहरु क्रियाशील हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot