Logo

औद्योगिक ग्राम निर्माण सुस्त



काठमाडौं, मंसिर २५ । औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम आएको चार वर्ष भए पनि प्रगति न्यून रहेको छ । हालसम्म १०५ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिए पनि तिनको प्रगति भने सुस्त रहेको हो ।

पछिल्लो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको प्रगति विवरणमा २६ वटा स्थानीय तहले मात्रै औद्योगिक ग्रामको प्रगति विवरण बुझाएका हुन् ।

विवरण बुझाउने स्थानीय तहमा पाख्रिबास नगरपालिका, धरान उपमहानगरपालिका, हरिवन नगरपालिका, विदुर नगरपालिका, थाहा नगरपालिका, भरतपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।

यसैगरी चामे गाउँपालिका, राइनास गाउँपालिका, बिहादी गाउँपालिका, ताराखोला गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, तिलोत्तमा नगरपालिका, पाणिनी गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, पञ्चपुरी नगरपालिका, भेरीगङ्गा नगरपालिका, शिवालय गाउँपालिका, मार्मा गाउँपालिका, अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र मेल्लेख गाउँपालिकाले पनि निर्माणाधीन औद्योगिक ग्रामको विवरण मन्त्रालयमा पठाएका छन् ।

अछामको मल्लेख गाउँपालिकाले औद्योगिक ग्राम निर्माण गरिसकेको छ । सो औद्योगिक ग्राममा प्रशासनिक भवन, तीनकोठे ट्रस भवन, शौचालय तथा स्नान गृह, विद्युत् पहुँच तयार भएको छ । यो औद्योगिक ग्राममा तयारी पोसाक सुरु भइसकेको विवरण सो गाउँपालिकाले पेस गरेको ।

यसैगरी मकवानपुरको थाहा नगरपालिका, काठमाडौँको दक्षिणकाली नगरपालिका र डडेल्धुराको गन्यापधुराले ठेक्का प्रक्रियामा रहेको विवरण बुझाएका छन् । अन्य २३ वटा स्थानीय तहले भने औद्योगिक ग्राम निर्माणको विभिन्न चरणमा रहेको विवरण बुझाएका छन् ।

मन्त्रालयकी उपसचिव शान्ता मरासनी नेपालले २६ वटाले प्रगति विवरण बुझाए पनि अन्यले नबुझाएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot