Logo

शेरबहादुर देउवालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चुन्छौंः एनपी सावद



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद एनपी सावदले कामचलाउ सरकारलाई अध्यादेश ल्याउने अधिकार भएको जिकिर गरेका छन् ।
‘यो अध्यादेश एकाएक आएको होइन । यसमा लगातार गृहकार्य भइरहेको थियो । विगतमा केपी शर्मा ओलीको सरकारले द्वन्द्वरत समूहसँग गरेका सम्झौता बमोजिम कामलाई अहिलेको सरकारले निरन्तरता दिएको हो । कामचलाउ सरकार भए पनि उसलाई संवैधानिक अधिकार नभएको होइन । किनभने नवनिर्वाचित सांसदको सपथग्रहण भएको छैन, संसद फङ्क्सनमा छैन । यो अध्यादेश संसदलाई छलेर ल्याइएको पनि होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने ।
अध्यादेशको नाममा राजनीतिको रोटी सेक्ने काम रोकिनुपर्ने पनि उनले औंल्याए । सावदले थपे, ‘निश्चय पनि टीकापुर घटना दुःखद हो । जो पीडित परिवार छ, तिनीहरुप्रति हाम्रो सहानुभूति छ । वर्षौंदेखि थारु समुदायको आक्रोश छ । आफ्नो देशका समस्यालाई हामी सधैंभरि थाती राखिरहन सक्दैनौं । समाजलाई स्थायी रुपमा विभाजित राखिरहन सकिँदैन । द्वन्द्वको विस्तारले राष्ट्रियता बलियो हुन सक्दैन । सानोतिनो स्वार्थमा मात्र राजनीतिको रोटी सेक्न थाल्यौं भने समस्या हुन सक्छ ।’
गठबन्धनलाई बहुमत जुटाउन रेशम चौधरीलाई छुटाउन नलागेको पनि सावदले स्पष्ट पारे । उनले भने, ‘गठबन्धनसँग बहुमत छ । गठबन्धन दलहरुको १३६ सिट छ । स्वतन्त्र साथीहरु पनि सहयोग गर्न तयार हुनुहुन्छ । सिके राउत र अरु दल पनि सकारात्मक छन् । सरकार बनाउनका लागि अध्यादेश ल्याउनु पर्दैन । रेशम चौधरीले पहिले एक्लै चुनाव जित्नुभएको थियो, अहिले चारवटा जितेको छ । केही हजारको अन्तरले दुईतीन सिट हारेको छ । थ्रेस होल्ड नभएको भए अझ धेरै सिट जित्थ्यो । एउटा समुदायले नै अन्याय भएको फिल गरिरहेको छ । यो अध्यादेश समाधानमुखी छ । यसले द्वन्द्वको घाउ पुर्छ । संघीयताको विवाद समाप्त गर्छ ।’ सावदले संविधानमा राष्ट्रपतिले अध्यादेश रोक्ने ठाउँ नभएको पनि बताए ।
अब पाँचदलीय गठबन्धनकै सरकार बन्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्ने पनि सावदले दाबी गरे । उनले भने, ‘आम निर्वाचनमा कांग्रेस पहिलो पार्टी भएको छ । त्यसैले प्रधानमन्त्री कांग्रेसकै हुन्छ । गठबन्धन सरकार भएकाले आलोपालो व्यवस्थापन गरेर अघि बढ्न सकिन्छ । प्रचण्ड फरक पार्टीको नेता हो । उहाँले प्रधानमन्त्री बन्छु भन्नु स्वाभाविकै हो । मलाई लाग्छ, उहाँ आलोपालोमा सहमत हुनुहुन्छ ।’
प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा नै रहने पनि नेता सावदले बताए । उनले भने, ‘संसदीय दलमा शेरबहादुर देउवाको दाबी रहन्छ । अरु साथीहरुको पनि इच्छा हुनु, प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर गठबन्धन चलाउनुपर्ने, पार्टी एकजुट राख्नुपर्ने भएकाले देउवालाई सर्वसम्मत रुपमा अगाडि सार्नु उचित हुन्छ । त्यसैले सबै साथीहरुलाई समेटेर निर्विरोध बनाउनुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot