Logo

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा होला जस्तो लाग्दैनः मीन विश्वकर्मा



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् ।
‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन हो । यसको राष्ट्रिय महत्त्व र आवश्यकता छ । विगतदेखिका सरकारले आन्दोलन, क्रान्ति र विद्रोहमा लागेका पक्षसँग गरेका सम्झौता कार्यान्वयनका लागि यसको विकल्प भएन । मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान केही न केही कानुनी अड्चन देखिएकाले संसद् सुरु हुनुअघि नै राजनीतिक समाधान खोज्नुपरेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले भने ।
नेपाली कांग्रेस नेतृत्वको सरकार राजनीतिले खोजेको समाधान दिन बाध्य भएको उनको जिकिर छ । विश्वकर्माले भने, ‘मुलुकमा प्रायः अप्ठ्यारो काम कांग्रेसले गर्दै आएको छ । यो कांग्रेस पार्टीका निमित्त आएको होइन, देशका निम्ति आएको हो । यसले पार्टीको हित नहुन पनि सक्छ । तर देशको हितमा हुन्छ भने कांग्रेसले अप्ठ्यारो काम पनि गर्छ ।’
अपराधीको संरक्षणका लागि अध्यादेश नआएको पनि उनले स्पष्टीकरण दिए । विश्वकर्माले भने, ‘यो रेशम चौधरीको व्यक्तिगत प्रश्नमात्र होइन । २०२७ देखि २०६२–०६३ सम्म हामीले कसलाई अपराधी भनेनौं ? हामीले आम माफी मिनाहा दिएको होइन ? सीके राउत, विप्लवहरुसँग केपी ओलीले नै सम्झौता गरेको होइन ? सरकारमा हुँदा एउटा, सरकारमा नहुँदा अर्को कुरा गर्न मिल्छ ? अध्यादेश संविधान बमोजिम नै आउने हो । त्यसो नभए अदालतले खारेज गरिहाल्छ । यो व्यावहारिक पक्ष हो ।’
विश्वकर्माले संसदको ठूलो पार्टी भएकाले कांग्रेसको नेतृत्वमा, त्यो पनि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने पनि बताए । उनले थपे, ‘हामीले जनतालाई गठबन्धनको संयुक्त सरकार बनाउँछौं भनेका थियौं । अब कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले आफ्नो मनसाय व्यक्त गरिसक्नुभएको छ । उहाँ गठबन्धनले पनि पत्याएको सर्वसम्मत नेता भएकाले प्रतिस्पर्धा होला जस्तो लाग्दैन । कांग्रेस कम्युनिस्ट पार्टीजस्तो होइन । कांग्रेसमा खुला आकांक्षा राख्न पाइन्छ । अन्य नेताहरुप्रति पनि मेरो सम्मान र शुभकामना छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot