Logo

जूठो खानाभन्दा जूठो विचार खतरनाक हुन्छ : हरि मञ्जुश्री



—हरि मञ्जुश्री

माता/पिताः युगला र दुर्गाप्रसाद अधिकारी
जन्मस्थानः दिङ्ला, भोजपुर
अध्ययनः स्नातक
प्रथम प्रकाशित रचनाः पहिलो रचना ः:असफलता (कविता, विवेचना साप्ताहिक, झापा, २०३४)
प्रकाशित कृतिसंख्याः कूल एक सय ३२ पुस्तक
मौलिक कृतिसंख्याः ३२

यहाँको साहित्य लेखन कहिलेदेखि सुरु भयो ?
विक्रम संवत् २०३२ देखि । त्यतिबेला मैले लेखेको कथा ‘विजयावतीको कथा’ हो । नाटक र कविता पनि लेखेँँ । छापिएको पहिलो कथाचाहिँ २०३५ मा लेखेको ‘पुरानो कथा’ र पहिलो कविता ‘असफलता’ हो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

भोजपुर दिङ्लामा छँदा अनेकौँ असन्तुष्टिबाट । काठमाडौँ छिरेपछि अभावबाट, अरूबाट पाएको हेला र तिरस्कारबाट । बाँच्नका लागि सानैदेखि धेरै सङ्घर्ष गरियो । अपमान र घृणा धेरै पचाइयो । अन्तर्मुखी स्वभाव भएकाले धेरै रोइयो, तर आफ्नो दुःख कसैलाई सुनाइएन । मेरा आँसुहरू अक्षरका रूपमा बगे र म साहित्यिक क्षेत्रमा लागेँ । आफ्नो रुचि, परिवारको चाहना र सामाजिक वातावरणबीच तालमेल मिलाउन नसकेर मैले धेरै हन्डर पाएँ । धेरै कुरालाई तिलाञ्जली दिएर म मेरो क्षेत्रमा अहिले उभिएको छु ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
लेखिरहेको छु । साहित्यिक सिर्जना गर्ने प्रभाव र प्रेरणा आफ्नै घरपरिवारभित्र रह्यो । बुबा–काकाहरू लेखपढ गर्ने हुनाले र सानैदेखि हामीलाई ‘गुरुखाल’ भनी गाउँलेहरूले ‘तिनीहरूका घरमा त गाईबाख्रा पनि पढ्छन्’ भन्ने गरेको कुरा सानैदेखि सुन्ने गरेकाले सायद म थाहै नपाईकन यसतर्फ प्रेरित बनेँ हुँला । अलि ठूलो भएपछि विभिन्न प्रकारका सङ्घर्ष, लेखनक्षेत्रका विभिन्न व्यक्तिहरूको सङ्गत र लेखनवृत्ति नै गर्नुपर्ने परिस्थितिजन्य बाध्यताले गर्दा म लेखन र सम्पादनतिर लागेँ । लेखनमा भन्दा सम्पादनतिर म एकोहोरिएको छु ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

छैन । मैले चाहेजस्तो मैले नै लेख्न सकेको छैन । अन्य कतिपय लेखकको लेखनले पनि म सन्तुष्ट हुन सकेको छैन । कस्तो लेखनले मलाई सन्तुष्ट पार्छ भन्ने कुरा नै मैले बुझ्न नसकेको हो कि जति लेखे पनि, जति पढे पनि नअघाएर हो, म सन्तुष्ट हुनै सकिनँ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

नयाँ कृति धेरै तयार गर्नुछ, गरिरहेको पनि छु । सम्पादनमा पाँच–छवटा र लेखनमा तीनचारवटा कृति प्रकाशन गर्नैपर्ने भएको छ । काम गर्दैछु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

राष्ट्रले साहित्य र स्रष्टाप्रति जिम्मेवारीको बोध गरेकै छैन । जिम्मेवारीको बोध भएमात्रै यस्तो जिम्मेवारी हुन्छ भन्न सकिन्छ ।

तपाईंको साहित्यिक आदर्श के हो ?

समाजलाई राम्रो दिशामा लैजान उत्प्रेरित गर्ने साहित्यलाई मात्रै म साँच्चैको साहित्य मान्छु । साहित्यिक विधामा लेखिएको जुनसुकै लेखोट साहित्य हुँदैन । त्यसैले साँच्चैको साहित्य सिर्जना गर्ने साहित्यका मलाई मन पर्छ । सम्भव भएसम्म म अर्काको विचारको पछि लाग्न खोज्दिनँ । शरीरलाई असर पार्ने कसैको जूठो त म खान चाहन्नँ भने बौद्धिकता र मानसिकतालाई नै असर पार्ने अरूको जूठो विचार हत्तपत्त ग्रहण गर्न हुँदैन भन्ने मलाई लाग्छ । नजानेको बेलामा मैले जूठो खाना र जूठो विचार दुवै खाएको छु । अचेल म ती दुवैबाट बच्ने प्रयास गरिरहेको छु । किनभने मानवजातिका लागि जूठो खानाभन्दा जूठो विचार खतरनाक हुन्छ । अर्को कुरो, मैले सबैभन्दा राम्ररी चिन्ने भनेको मलाई नै हो र मेरा क्रियाकलापलाई डोहो¥याउने पनि म नै हुँ । त्यसैले म आफैँबाट या आफ्नै विचारबाट प्रभावित छु । मबाहेक मेरो अर्को आदर्श छैन । अर्कोलाई आदर्श बनाएर म आफ्नोपनलाई हराउन चाहन्नँ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व बहन गरिरहेका छन् त ?

राजनीतिक दलका झोले कार्यकर्ता नबनेका लेखकले त लेखकीय दायित्व पूरा गरेकै देख्छु ।

तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

अहँ । म सन्तुष्ट भएँ भने मेरो सिर्जनशीलता नै मर्छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

हिजोको जस्तो बौद्धिकता आजको साहित्यमा छैन जस्तो लाग्छ । अचेलको साहित्यमा पत्रकारिता लेखनको प्रभाव परेको छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

तपाईंको प्रश्न साहित्यिक सिद्धान्तसम्बन्धी हो भने म कुनै साहित्यिक सिद्धान्तबाट प्रभावित बनेर त्यसै अनुरूप साहित्यको सिर्जना गर्ने व्यक्ति परिनँ । राजनीतिक सिद्धान्तप्रति तपाईंको प्रश्न लक्षित रहेको हो भने म आजसम्मका कुनै पनि राजनीतिक सिद्धान्तबाट प्रभावित भएर लेख्नुपर्छ भन्ने मान्यता राख्तिनँ, बरू साहित्यको अध्ययन गरेर राजनीतिकर्मीहरूले आ–आफ्नो सिद्धान्तलाई परिष्कृत बनाउनुपर्छ भन्ने मान्यता राख्छु । राजनीतिले सपार्ने र बिगार्ने दुवै कार्य गर्छ, तर साहित्यले बिगार्ने काम गर्दैन । यसो किन हुन्छ भने जुनसुकै राजनीतिक सिद्धान्तको पक्ष र विपक्ष हुन्छ, तर सच्चा साहित्यको विपक्ष नै हुँदैन । अर्काको विचारको पछि लाग्यो भने आफ्नो विचारको हत्या त्यो विचार नजन्मिँदैमा हुन्छ र जन्मिन नसकेको विचार स्थापित हुन सक्ने कुरै हुँदैन । मेरो यही विचार साहित्यमा आएको हुनुपर्छ, यद्यपि म साहित्यमा सामाजिक र राजनीतिक दुरवस्थाबाट संवेदनशील हृदयमा उत्पन्न उद्वेलनलाई बढी महत्व दिन्छु, राजनीतिक सिद्धान्तलाई दिन्नँ । मलाई लाग्छ — संसार बिग्रिएको छ भने नकारात्मक चिन्तन बोकेर चलाइएको प्रतिस्पद्र्धात्मक राजनीतिक अभियानले बिग्रिएको छ, संसार सप्रिएको छ भने सकारात्मक चिन्तनतर्फ मानवलाई डोहो¥याउने नवीन प्रस्तुतिसहितको साहित्यका कारणले सप्रिएको छ । विनाश राजनीतिले गराउँछ, साहित्यले गराउँदैन । त्यसैले मान्छेको मनोवृत्तिलाई सपार्ने साहित्य लेखिनुपर्छ भन्ठान्छु ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?

मैले साहित्यमा समेट्ने विषय भनेका नै सामाजिक र राजनीतिक क्षेत्रका आफूलाई कुनै न कुनै रूपमा उद्वेलित बनाउने विषयहरू हुन् । म प्राणीजगत्मा कसैप्रति कुनै पनि प्रकारको अन्याय नहोस् भन्ने चाहन्छु र अन्याय भएको देखेपछि त्यसैलाई विषयवस्तु बनाउँछु । त्यसैले मलाई प्रेरणा दिने विषय नै सामाजिक र राजनीतिक क्षेत्र हुन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

छैन । मेरो मस्तिष्कमा अक्षर अट्ने ठाउँ मात्रै छ कि जस्तो लाग्छ मलाई । जुनसुकै बेलामा साहित्यको जुनसुकै विधा र विषयमा लेख्न सक्ने सामथ्र्य दिएर प्रकृतिले ममाथि ठूलो गुन लगाएको छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन पैदा गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु । लेख्ने बेलामा हल्लाखल्ला नै भए पनि म आफ्नै लेखाइ र विषयवस्तुमा एकोहोरिन सक्छु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

म विषयवस्तु छान्दिनँ । विषयवस्तु नै मलाई छान्दै आउँछन् ।

सफल स्रष्टाका आवश्यक गुण के–के हुन् ?

सफलता र असफलताको मापदण्ड नै हुँदैन । त्यसैले यस प्रश्नको उत्तर दिन सकिँदैन ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?

आख्यान, व्यत्तिवृत्त र अनुभव मन पराएजस्तो देख्छु ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

साहित्यमा बहुसङ्ख्यक पाठकको हृदय झङ्कृत गराउने विचार, बहुसङ्ख्यक पाठकले देखेका र भोगेका विषयवस्तु र बहुसङ्ख्यक पाठकहरूका लागि सुरुचिपूर्ण अभिव्यक्तिकौशल, पुस्तकको भाषा सरल र कलेवर आकर्षक हुनुपर्छ । सजीवता र काल्पनिकताले कुनै असर पर्दैन ।

लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ ?

विचारहरू मडारिएर छाती फ्ुट्ला जस्तो भएपछि नलेखी धरै पाइँदैन ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

मेरो हैसियत सुझाव दिने होइन, लिने हो । तैपनि कुनै पनि लेखकले आफू, आफ्नो भावना र आफ्नो राष्ट्रिय–सामाजिक परिवेशप्रति कहिल्यै बेइमानी गर्नु हुँदैन भन्नचाहिँ सक्छु । हरेक लेखकको आफ्नोपन हुन्छ । मेरो सुझाव मानेर नयाँ लेखकले मजस्तो किन हुनु ?

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

आफ्नो क्षमतामा विश्वास नभएपछि र पदको चाहना बढेपछि दलको झण्डामुनि ओत लाग्न जानु स्वाभाविकै हो ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्