Logo

मर्चवारको विकासमा स्थानीय सरकारको अग्रसरता



काठमाडौँ,२८ मँसिर । रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारको विकासमा स्थानीय सरकार प्रभावकारी बनेका छन् । मर्चवार क्षेत्रमा रहेका कोटइमाई, समरीमाई र मर्चवारी गाउँपालिका कृषिको पकेट क्षेत्र हुन ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा स्थानीय सरकारका योजनाका कारण धेरै विकास भएको स्थानीय जनता बताउँछन् । सडक विस्तार, शिक्षा र स्वास्थ्यमा यहाँका नागरिकको सहज पहुँच रहेको छ । यहाँका जनतामा शिक्षा तथा स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता धेरै मात्रामा हटेको छ । दक्षिणतर्फ भारतको सीमानामा पर्ने यी गाउँपालिकाले स्थानीय जनताको जीवनस्तर उकास्न बिभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरेका छन् ।

मर्चवारमा ८५ प्रतिशत भन्दा धेरै क्षेत्रमा पुग्न सहज सडक निर्माण भएका छन् । पुराना सडकको स्तरोन्नति र विस्तारमासमेत मर्चवार क्षेत्रका स्थानीय सरकारले योजना सहित कार्यान्वयन गरेका छन् ।

मर्चवार लिफ्ट आयोजना यस क्षेत्रको मुख्य सिँचाइ आयोजना हो । यो आयोजनाले मर्चवारको कृषि भूमिलाई सिँचाइ सुविधा पु¥याउदै आएको छ । यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग अनुरोध गरेका छन् ।

समरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले गाउँपालिकाको पूर्वाधार विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेर काम गरिरहेको बताउछन् ।

उनका अनुसार दुई मुहान, वेतकुइँया, रोहिनीहवा, थुमुवा पिपरहवा, करौता हुँदै सेमरा चोकसम्मको सडक निर्माणका लागि समेत गाउँपालिकाको बजेटका साथै केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिहेको छ ।

अध्यक्ष श्रीवास्तवले भने, “रामनगर, झिङ्गना बनगाई हुँदै झगरहवासम्मको सडक पिच गर्नका लागि पनि पहल भइरहेकोे छ ।” पन्ध्र शय्याको अस्पताल निर्माण तथा सिँचाइको व्यवस्थाका लागिसमेत गाउँपालिकाले आफ्ना योजना निर्माण गरिरहेको छ ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बराईले मर्चवारको विकासमा योजना निर्माण गरेर काम गरिएको बताउँछन् । अध्यक्ष बरईले भने, “यहाँको मुख्य प्राथामिकता सडक र कृषि हो । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पनि स्थानीय सरकारले काम गरिरहेका छन् ।”

मर्चवारीमा तुनिहवादेखि अमुवाको बाटो निर्माण प्रक्रिया सुरु गरिएको, मर्चवार जोड्ने मुख्य सडक बनगाइदेखि खैरासम्म बोलपत्र भएर काम भइरहेको उनले बताए । मर्चवारीमा रहेका मनराजी, अमुवा, बगौली, जनता मावीलगायतका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष कार्यक्रम लागु गरिएको छ । महिला विद्यालय तथा निःशुल्क एम्बुलेन्स सेवा जस्ता काम गरेको मर्चवारीले अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको छ ।

कोटइमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकासमा आफूहरुले योजना तयार गरि योजना कार्यान्वयनका चरण रहेको जानकारी दिए ।

बुद्ध जन्मस्थल लुम्बिनी संगै जोडिएको मर्चवार क्षेत्रमा विकासमा स्थानीय सरकार सक्रिय बनेपनि स्थानीय जनतालाई समेत विकासको अनुभूति हुने गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण भागमा रहेको मर्चवारले कृषि,व्यापार र शिक्षा क्षेत्रमा उल्लेख्य गरेको देखिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot