Logo

बदर मत २०४८ यताकै बढी



काठमाडौं, पुस १ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रैको निर्वाचन चिह्न हुनेगरी मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरेअनुसार बदर मत प्रतिशत घटेन।

२०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो।

जिल्लागत आधारमा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “बदर मतको प्रतिशत सोचेभन्दा पृथक् नै आयो, कारण खोतल्न सकेका छैनौँ।” प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन्। २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो। प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ मत बदर भएको छ। आयोगले बदर मत घटाउन प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरेर अलग्गै मतपत्र छापेको थियो। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्