Logo

कांग्रेस सहमहामन्त्रीलाई धमलाको प्रश्न- तपाईंको प्राथमिकता शेखर कोइराला कि गगन थापा ?



काठमाडौं, १ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले संसदीय दलमा शेखर कोइराला कि गगन थापा भन्ने बेला भइनसकेको बताएका छन् ।
‘संसदीय दलको निर्वाचन तालिका आइसकेको छैन । कसले प्रतिस्पर्धा गर्दा उपयुक्त हुन्छ, छलफलबाट सहमतिमा पुग्न बाँकी छ । ठ्याक्कै भन्न सकिँदैन । कुनै एक जना व्यक्तिले फलानो हुनुपर्छ भन्नुको अर्थ पनि छैन । शेखर र गगन थापा दुवै आकांक्षी हुनुहुन्छ । अहिले टुंगो लागेको भए त सबैले थाहा पाइसक्थे नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै परियारले भने ।
तपाईंको प्राथमिकता शेखर र गगनमध्ये को हो भन्ने पत्रकार धमलाको प्रश्नमा परियारले भने, ‘यसबारे अहिले नै भन्नु उपयुक्त हुँदैन । मेरा लागि दुइटै नेता आदरणीय हुनुहुन्छ । शेखरले छलफलमा छु भन्नुभएको छ, घोषणा गर्नुभएको छैन । तर उहाँ उम्मेदवार हुनुहुुन्न भन्ने पनि होइन । सांसद साथीहरुसँग छलफल गर्न बाँकी छ । आवश्यकता परेको बेला बोलौंला ।’ दलको नेता नबने पनि गठबन्धन सरकारको प्रधानमन्त्री बन्न बाधा नभएको पनि उनले बताए ।

संसदीय दलमा सर्वसम्मत नभए प्रक्रियामा जानु स्वाभाविक भएको पनि उनले बताए । परियारले थपे, ‘शेरबहादुर देउवा सर्वसम्मत नहुने भन्ने छैन । तर विगतदेखि सर्वसम्मत भएको अवस्था छैन । प्रक्रियामा जाँदा हाम्रो समूहबाट एक जनामात्र उम्मेदवार हुनुहुन्छ । युवा र पाको पुस्ता जे भने पनि हामी छलफल गरेर टुंगोमा पुग्छौं ।’
प्रतिनिधिसभामा ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने पनि उनले ठोकुवा गरे । उनले भने, ‘अहिलेको गणितले माओवादीले प्रधानमन्त्री दाबी गरिहाल्नु त्यति उपयुक्त होइन । तर कुनै पनि दलको बहुमत नभएकाले भविष्यमा बन्नुहुन्न भन्ने पनि होइन ।’

नेकपा एमाले र कांग्रेसको सरकार बन्ने सम्भावना नदेखेको पनि परियारले बताए । उनले थपे, ‘नेपाली कांग्रेसको नेतृत्व स्वीकार गरेर कुनै पनि दल आउँछ भने त्यो स्वागतयोग्य नै हो । तर अहिले दुइटा प्रमुख दल मिलेर सरकार बनाउने अवस्था छैन ।’



प्रतिक्रिया दिनुहोस्