Logo

‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्ने’



काठमाडौँ,१ पुष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् ।

शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा विद्यार्थीको पहुँचमा कमी भएको बताए ।

युनेस्को काठमाडौँका प्रतिनिधि ध्रुव रेग्मीले २०७२ सालको भूकम्पले अस्तव्यस्त पारेको नेपालको शिक्षा क्षेत्रलाई कोभिड–१९ ले अरु समस्याग्रस्त बनाएको भन्दै शिक्षाको गुणस्तर सुधारका लागि सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

कोरोना महामारीपछिको स्थितिमा शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई ध्यानमा राख्दै विद्यार्थीलाई कम्प्युटर, ल्यापटपलगायत उपलब्ध गराउनुपर्ने, समयअनुसार सिकाइ प्रणालीलाई परिमार्जित गर्दै लानुपर्ने र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अछाम पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेले आफ्नो क्षेत्रमा आधारभूत शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सबैभन्दा ठूलो चुनौतीको विषय रहेको बताए ।

स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि मन्त्रालयबाटै बजेट, शिक्षक दरबन्दीआदिमा विभेदकारी विवरण भएको गुनासो गरे । उनले अछाममा शिक्षक अभावको समस्या ठूलो रहेको बताए ।

कार्यक्रममा सन् २०१५ मा घोषणा गरिएको दिगो विकास लक्ष्यअन्तर्गत समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसर प्रवद्र्धन गर्ने बारे चर्चा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot