Logo

गैरवामपन्थी गठबन्धन पनि बन्न सक्छः कांग्रेस प्रवक्ता



काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवं नवनिर्वाचित सांसद डा. प्रकाशशरण महतले नेकपा एमाले जसरी पनि सत्तामा जाने अभ्यासमा लागेको आरोप लगाएका छन् ।
‘गठबन्धन दलहरुबीच सरकारको नेतृत्व गर्ने विषयमा कुराकानी भइरहेको छ । सहमति पनि बन्ला । एमालेका तर्फबाट पनि सरकार निर्माणका लागि कसरत हुने नै भयो । उहाँहरु सबै खाले अभ्यासमा लाग्नुभएको छ । हामी एमालेजस्तो जसरी पनि सरकार बनाउने वा कुनै पनि हालतमा सत्तामा जाने सोचमा छैनौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने ।
संसदको सबभन्दा ठूलो पार्टी भएकाले नयाँ सरकारमा कांग्रेसको नेतृत्व स्वाभाविक भएको पनि उनले औंल्याए । डा. महतले भने, ‘कांग्रेस संसदको ठूलो पार्टी भएको छ । आम मतदाताको भावना त्यसमा प्रतिबिम्बित भएको छ । त्यसकारण कांग्रेसको नेतृत्व स्वाभाविक हो । गठबन्धन पनि कांग्रेसकै नेतृत्वमा अघि बढेको हो । निर्वाचनमा पनि करिब बहुमतनजिकको सफलता पाएको छ ।’
सरकारको नेतृत्वका विषयमा अनावश्यक बहस आवश्यक नभएको पनि डा. महतले बताए । उनले भने, ‘कांग्रेस विश्वासको राजनीति गर्ने शक्ति हो । हामी गठबन्धनलाई निरन्तरता दिन प्रतिबद्ध नै छौं । प्रधानमन्त्रीबाट ब्याक हुने वा नहुनेभन्दा पनि गठबन्धनमा सरसल्लाहबाट हुने कुरा हो । यसमा बहसको आवश्यकता छैन । पदमा हलो अड्किनु हुँदैन । व्यक्तिगत लाभहानिबाट माथि उठ्नुपर्छ । यसबारे पार्टीभित्र पनि छलफल हुन्छ । गठबन्धनभित्र पनि छलफल होला ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सरकारको नेतृत्वको दाबी गर्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रचण्डजीको दाबीलाई पनि म स्वाभाविक मान्छु । तर अहिले प्रधानमन्त्री पदलाई प्रमुखताभन्दा दिएर जाने बेला होइन । यो पद नभई हुन्न भन्ने अवस्था पनि छैन । कांग्रेसको प्राथमिकता गठबन्धन हो । गठबन्धनमा यताउता हुँदा नेपाली कांग्रेसले पनि विभिन्न विकल्पमा गएर नेतृत्वमा पुग्न सक्छ । गैरवामपन्थी गठबन्धन बन्न सक्छ, एमालेसँग पनि हुन सक्छ । तर हामीले त्यसलाई महत्त्व दिएका छैनौं ।’
पार्टी संसदीय दलमा शेरबहादुर देउवा नै सर्वसम्मति हुने पनि उनले बताए । प्रवक्ता डा. महतले भने, ‘संसदमा नेपाली कांग्रेस ठूलो पार्टी भएको छ । यसको श्रेय देउवाजीलाई जान्छ नै । यद्यपि यसमा अरुको पनि योगदान छ । त्यसकारण संसदीय दलमा शेरबहादुरजीको दाबी स्वाभाविक हो । हामी सकेसम्म सर्वसम्मतिको वातावरण बनोस् भन्ने चाहन्छौं ।’ भोलि वा पर्सिमा दलको नेता चयन हुने पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot