Logo

सिद्धबाबा सुरुङ मार्ग बनाउन सुरु



पाल्पा, पुस ३ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु भएको छ । सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य कामहरु, माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग निर्माणपछि यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

आठ महिनाअघि ठेक्का सम्झौतापश्चात् स्थलगत अध्ययन गरेपछि डिजाइनको काम सकेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ । डिजाइन स्वीकृतिपछि सुरुङ मार्ग निर्माणको काम प्रारम्भ हुने निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।

हाल ११ केभी विद्युत् क्षमता भएको विद्युत् विस्तारको काम भइरहेको छ । यस्तै माटो परीक्षण सकेर रिपोर्ट प्राप्त भइसकेको सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो । सुरुङ मार्गको डिजाइन अन्तिम चरणमा पुगेको र अब छिटै काम सुरु गरि डिजाइनको काम सम्पन्न भएपछि सुरुङ छेड्ने काम हुनेछ ।

निर्माण पक्षले सरकारसँग भएको सम्झौताअनुसार नै कामको प्रगति भइरहेको जनाएको छ । सुरुङ मार्ग बनाउन चाइनिज कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको छ । यो आयोजनाका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटरको सुरुङ मार्ग बनाउने सम्झौता उल्लेख छ । सुरुङ मार्गको काम सुरु गरेको पाँच वर्षभित्र सक्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्