Logo

मधेसी र खस–आर्य राष्ट्रपति हुनुभो, अब आदिवासी जनजातिको पालोः गोपालमान श्रेष्ठ



काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री आफ्नो पार्टीले नै लिने जिकिर गरेका छन् ।
‘नेपाली कांग्रेसले संसदको सबभन्दा ठूलो पार्टीको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने भनेको छ । तर यो कांग्रेसको एकल निर्णयबाट भन्दा पनि पाँच दलीय गठबन्धनको समझदारीबाट हुने कुरा हो । भोलि संसदीय दलको नेता चयन हुन्छ । त्यसपछि प्रचण्ड, माधवजीसँग बसेर गहनतापूर्वक सरसल्लाह हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने ।
संसदीय दलको नेतामा शेरबहादुर देउवा नै निश्चित भएको उनले बताए । श्रेष्ठले भने, ‘पार्टीका साथीहरुले संसदीय दलमा उम्मेदवारी दिन सक्नुहुन्छ । तर संसदमा चुनिएर आउनुभएका साथीहरुको अंकगणित हेर्दा बहुमतका साथ शेरबहादुर देउवा नै चुनिनुहुन्छ । अहिले त युवाहरु हस्तक्षेप गरेर आउँदै छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, युवाले हस्तक्षेप गरेको राम्रो हो । तर मुखले भनेर मात्र होइन । गगनजी भविष्यको प्रधानमन्त्री हुनुहोला । तत्कालै हुने अवस्था देखेको छैन । उहाँ हुनैहुन्न त कसले भनेको छ र ?’
देउवा संसदीय दलको नेता चुनिएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख आदि पदको भागबन्डा हुने पनि उनले बताए । प्रधानमन्त्रीमा त नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पनि दाबी छ नि भन्ने प्रश्नमा उनले भने, ‘अहिले शेरबहादुर देउवाको नेतृत्वमा चुनाव सम्पन्न भयो । पार्टी संसदमा पहिलो भएको छ । प्रचण्डजी जिम्मेवार नेता हो । उहाँले इम्याचुअर्ड कुरा गर्नुहुन्न । पहिलेजस्तो एउटै प्रधानमन्त्रीले पाँच वर्ष खाने होइन । शेरबहादुर बसिरहनुभएको छ, अब किन सार्ने भन्ने छलफल छ । पहिला प्रचण्डजी हुने हो कि शेरबहादुरजी सल्लाह भइसकेको अवस्था छैन ।’ तर पदका निम्ति कुनै कुनै दरार नआउने पनि श्रेष्ठले दाबी गरे ।
पाँच दलीय गठबन्धनमा जनता समाववादी पार्टी पनि सामेल हुने नेता श्रेष्ठले बताए । उनले भने, ‘जसपा गठबन्धनमा प्रवेश हुने सम्भावना छ । उपेन्द्रजी, अशोकजीसँग कुराकानी भएको छ । गठबन्धन अरु बलियो हुन्छ निरन्तर अगाडि बढ्छ । गठबन्धनमा तलमाथि हुँदैन ।’ उनले अब वाम गठबन्धन नहुने पनि ठोकुवा गरे ।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको दाबी नरहेको दाबी पनि उनले गरे । श्रेष्ठले भने, ‘रामचन्द्रजीको चाहना राष्टपति होइन । उहाँ राष्ट्रपति बन्न इच्छुक हुनुहुन्न । उहाँको इच्छा त प्रधानमन्त्री हुने हो । अहिले उहाँ जहिले भए पनि हुन्छु भनेर अघि बढ्नुभएको छ । उहाँको इच्छा कार्यकारी पदमै छ ।’
प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेसकै भागमा पर्ने पनि उनले औंल्याए । श्रेष्ठले थपे, ‘अहिले प्रधानमन्त्री मात्र नभएर राष्ट्रपति पनि कांग्रेसकै अंशमा पर्नुपर्छ भन्ने जबर्जस्त धारणा छ । प्रधानमन्त्री त आलोपालो हुने कुरा हो । राष्ट्रपति पाँच वर्ष हुने हो । प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसकै एउटै बन्न सक्छ ।’ अहिले राष्ट्रपतिमा कुनै जागिरे व्यक्ति नआउने पनि उनले स्पष्ट पारे ।
कांग्रेस नेता श्रेष्ठले राष्ट्रपतिमा आफ्नो दाबी रहेको पनि बताए । उनले भने, ‘कांग्रेस राष्ट्रपति हुन योग्य मान्छे एकसे एक नेता छन् । तपाईं अबको राष्ट्रपति को भन्न किन हिचकिचाउनुहुन्छ ऋषिजी ? मधेस, खस आर्य बनिसक्नुभयो, अब जनजातिको पालोमा होइन र ? गोपालमान श्रेष्ठ योग्य छ कि छैन ? तपाईं भन्नुस् न ।’
उनले राजनीतिमा आफ्नो सात दशकको लगानी रहेकाले राष्ट्रपति हुन योग्य रहेको बताए । श्रेष्ठले भने, ‘म प्रजातन्त्रका लागि कफन बाँधेर हिँडेको व्यक्ति हुँ । कार्यवाहक सभापति भएँ । उपसभापति भएँ । १२ बुँदेको हस्ताक्षरकर्ता हुँ । उपप्रधानमन्त्री पनि भएँ । म राष्ट्रपति बन्न तयार छु । म भएँ भने कुनै विवाद हुँदैन । त्यसैका लागि सांसदबाट अलग्गिएर बसेको छु ।’ उनले अर्को पटक राष्ट्रपतिमा कुमालेको चक्रजस्तो घुमेर दलितको पालो आउने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot