Logo

मैले कांग्रेसलाई बाहेक गरेर अर्को गठबन्धन बन्ने सम्भावना देखेको छैन : माधव नेपाल (भिडिओसहित)



काठमाडौं, ४ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कांग्रेसलाई बाहेक गरेर अर्को गठबन्धन बन्ने सम्भावना नदेखेको स्पष्ट पारेका छन् । उनले अहिले रहेको पाँच दलीय गठबन्धन सहमतिका साथ अघि बढ्ने विश्वास दिलाएका छन् ।

‘हामी यहाँसम्म सहमतिका साथ आएका छौं, सहमतिका साथ बढेका छौं । कुनै पनि पदलाई लिएर गठबन्धनमा दरार आएको छैन । बाटोबाटोमा प्रधानमन्त्रीको गीत गाउँदै हिँड्ने हो र ? यस्ता कुरा गर्दै हिँड्ने नेचर माधवकुमार नेपालको होइन । मैले पहिले नै बोल्दा बैठकको मर्यादा आँच पुग्छ । अरु कसैको भावनामा ठेस पुग्छ । त्यो काम मैले गर्न मिल्दैन । एकचोटिमा एक जना मात्र प्रधानमन्त्री हुन्छ । कसै न कसैले कम्प्रोमाइज गनैपर्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपालले भने ।

उनले पदका लागि गठबन्धनका कुनै हानथाप नभएको र अर्को गठबन्धन बन्ने सम्भावना नदेखेको पनि औंल्याए । नेपालले भने, ‘गठबन्धनमा तानातान वा हानथाप छैन । पावर सेयरिङका निम्ति प्याकेजमा डिल गर्ने गरी हामी अहिलेसम्म गम्भीर छलफलमा जुटेका छैनौं । सहमतिका निम्ति वातावरण बनाउने काम मेरो हो । त्यसनिम्ति शीर्ष नेताहरुलाई एक ठाउँमा राखेर कुरा गर्छु । हामी मिलाउँछौं । मैले कांग्रेसलाई बाहेक गरेर अर्को गठबन्धन बन्ने सम्भावना देखेको छैन । यस्ता कुरामा होसियार हुनुपर्छ ।’

नेता नेपालले प्रचण्डले आफू प्रधानमन्त्री हुन्छु भनेर नहुने र त्यसका निम्ति नेपाली कांग्रेस तयार हुनुपर्ने पनि बताए । अहिलेको अवस्थामा एउटै पार्टीबाट प्रधानमन्त्री र राष्ट्रपति पाउने सम्भावना नभएको र उपयुक्त पनि नहुने पनि उनले औंल्याए । नेपालले भने, ‘यस विषयमा छलफल होला । कस्ता कस्ता कुरा मिलेका छन् भने यी पद नमिलाउने कुरा हुन सक्दैन मिलाउनै पर्छ । सानातिना कुरामा गठबन्धनलाई तोड्ने र विकल्प खोज्ने होइन ।’ कसैले अपमान गर्छ भने सहेर नबस्ने उनले चेतावनी दिए ।

नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन भन्ने केपी शर्मा ओली भविष्यवक्ता मात्र नभएर योजनाकार पनि भएको आरोप पनि नेता नेपालले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot