Logo

सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती



काठमाडौँ,४ पुष । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ ।

साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम पाँच वर्ष आठ महिना वितिसक्दा पनि सम्पन्न भएको छैन ।

धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित भएको खजुरा बजारका स्थानीय व्यवसायी टेकप्रसाद शर्माले बताए । उनले मुख्य सडकमा सवारीसाधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीयवासी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे ।

गतवर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो ।

विसं २०७४ वैशाखमा रु २१ करोड ४९ लाखमा निर्माणको लागि ठेक्का सम्झौता भएको उक्त सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए । उनले सडक निर्माण कार्यलाई सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरेपनि काम हुन नसकेको उल्लेख गरे । सडक डिभिजन कार्यालय नेपालगञ्जमार्फत सञ्चालित उक्त योजना निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवाले लिएको छ ।

निर्माण कम्पनीले समयमा काम नसकिनुमा कोरोना महामारीको कारण देखाउँदै पटक–पटक म्याद थपाउँदै आएको छ । अब भने काम अन्तिमचरणमा पुगेको कम्पनीका सञ्चालक बामदेव रेग्मी बताउँछन् । खजुराको चार लेन खण्डसँगै बर्दियाको गुलरियाको चार लेन खण्ड पनि एकैपटक ठेक्का लिइएको उनले बताए । अब गुलरियाको काम सकिएकोले केही हप्तामै खजुराको सडक पनि निर्माण सम्पन्न भइसक्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्