Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सात महिनामा ८१ जना मात्रै पर्यटक भित्रिए



काठमाडौं, पुस ५ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अनुप केसीका अनुसार सबैभन्दा बढी पर्यटक फिलिपिन्स, इजिप्ट, पाकिस्तान, लेबनान, जोर्डन, कुवेत, बेलायत, बङ्गलादेश र साउदीबाट भित्रिएका हुन् । उनले भने, “विमानस्थल सञ्चालनमा आएको छोटो समयमा सीमित उडानबाट बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको चहलपहल बढ्दै गएको छ । पछिल्लो समय बौद्धमार्गी पर्यटकसँगै युरोपलगायतका मुलुकबाट समेत सिधै पर्यटक लुम्बिनी आउन थालेका छन् ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलबाट पछिल्लो छ महिनामा ९२ अन्तर्राष्ट्रिय उडान र त्यति नै अवतरण भएका छन् । उक्त अवधिमा २१ हजार १६३ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएको प्राधिकरणले जनाएको छ । हाल दुईवटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको उक्त विमानस्थलमा स्वदेशीसहित ११ हजार २०९ जना यात्रु भित्रिएका र नौ हजार ९५४ जना यात्रु बाहिरिएका छन् ।

त्यस्तै आन्तरिकतर्फ पछिल्लो ११ महिनामा छ लाख ३१ हजार ३३६ हवाई यात्रुले ओहोरदोहोर गरेका छन् । सोही अवधिमा आन्तरिकतर्फ ११ हजार ७६८ उडान तथा अवतरण भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने प्रमुख पाँच विमानस्थलमध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चौथो स्थानमा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, विराटनगर विमानस्थलपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त विमानस्थल भएको छ ।

विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले हाल भैरहवा–कुवेत साताको तीन उडान गर्दै आएको छ । गत कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले समेत भैरहवा–मलेसिया चार्टर उडान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्