Logo

अतिक्रमित संरचना हटाउँदै काठमाडौँ महानगरपालिका



काठमाडौँ,६ पुष । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ ।

महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस क्षेत्रमा करिब पाँच दर्जन संरचना निर्माण गरेका छन् ।

राजधानीको सभ्यताको स्रोतका रुपमा रहेका नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध संरचना निर्माण गर्दा प्रदूषण बढ्ने गरेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि काठमाडौँ उपत्यकाका नदी किनारमा अतिक्रमण भएको सार्वजनिक जग्गा खाली नभएसम्म नदी सफाइमा काम गर्न असहज हुने बताउँदै आएको छ ।

महानगरपालिकाले यसअघि वाग्मती नदी किनारलगायत अवैध संरचना पनि हटाउन सुरु गरिसकेको छ । नक्सापास नभई बनेका अन्य संरचना पनि महानगरपालिकाले हटाएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्