Logo

देव गुरुङ जंगिए– माओवादी प्रधानमन्त्री र राष्ट्रपति हुन किन नसक्ने ?



काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा आफ्नो पार्टीको दाबी भएको बताएका छन् ।
‘राष्ट्रपतिले संविधानको ७६(२) अनुसार नयाँ सरकार बनाउन पुस १० सम्मको समयसीमा दिनुभएको छ । अब चार दिन बाँकी छ । यस विषयमा गठबन्धन दलहरुबीच छलफल होला । सरकारको नेतृत्व शक्ति सन्तुलनका हिसाबले आपसी सहमतिमा तोकिने कुरा हो । अहिले प्रधानमन्त्रीमा हाम्रो पनि मागदाबी छ । सिट भनेको तल-माथि भइरहन्छ । त्यही तर्क गर्ने हो भने नेपाली कांग्रेसको अवस्था २०७४ मा के थियो ? के कति कारण माओवादीले प्रधानमन्त्री र राष्ट्रपति नपाउने हो ? यसलाई एकपक्षीय रुपमा परिभापित गर्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने ।
साथै तपाईंहरु घन्टीतिर किन लाग्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘पाँच दल मिलेर मेजोरिटी पुग्दैन । अरु दलको सहयोग माग्नुलाई अन्यथा मान्न मिल्दैन । हामीसँग जो भेट्न आउनुभयो, उसलाई पन्छाउन मिल्छ ?’
गठबन्धनमा प्रधानमन्त्री नपाए के गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा महासचिव गुरुङले थपे, ‘गठबन्धनमा कुरा नभईकन अहिले हाइपोथेटिकल कुरामा नलागौं । बालकोट गएर भेटघाट र शुभकामना दिने कुरा सामान्य शिष्टाचार हो । यस्तो त कांग्रेस र एमालेबीचमा पनि भइरहेकै छ नि । संसदीय राजनीतिमा नेताहरुबीच संवाद हुनु राम्रो पक्ष हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot