Logo

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुन्छः राजेन्द्र लिङ्देन



काठमाडौं, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन् ।
‘संसद्मा म पहिले एक्लै थिएँ, अहिले अलि ठूलो संख्यामा छौं । हाम्रो घोषित एजेन्डाबाहेक जनताका समस्या सशक्त ढंगले उठाउँछौं । सरकार निर्माण हाम्रो प्राथमिकतामा छैन । जनमत पनि त्यस्तो छैन । प्रतिपक्षमा बसेर जनताको आवाज उठाउने र खबरदारी गर्ने नै हाम्रो जनमत हो । केही थान मन्त्री बन्नकै लागि मात्र राप्रपा सरकारमा जाँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले भने ।
राप्रपा अध्यक्ष लिङ्देनले अहिलेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुने पनि औंल्याए । उनले भने, ‘सके गठबन्धनले सरकार बनाओस्, त्यो नभए एमालेले बनाओस् । एमाले र कांग्रेस मिलेर बनाए पनि हुन्छ । तर अहिलेका समीकरण भत्कियो भने वा हामी नगईकन वा नभईकन सरकार नबन्ने स्थिति भयो भने बाहिर रहेर पनि समर्थन गर्न सक्छौं । यही अवस्थामा हामी सरकारमा जाँदैनौं । तर सरकार जाँदै नजाने भनेर कसम पनि खाएका छैनौं ।’
उनले गठबन्धन वा कांग्रेसले राप्रपालाई सरकारमा सामेल गर्ने कुरा नगरेको पनि बताए । लिङ्देनले थपे, ‘कांग्रेसले कसलाई यस्तो कुरा भन्यो थाहा छैन, हामीसँग चाहिं भनेको छैन ।’ संसदीय गणित कुनै दल, विचार, व्यक्ति र समूहलाई निषेध गरेर जान नमिल्ने अवस्थामा रहेको पनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot