Logo

प्रदीप पौडेलको प्रश्न : मेरो प्राथमिकता मन्त्री मात्र भएको भए म यो बाटो हिँड्थे र ?



काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धोका नदिएको बताएका छन् ।
‘श्रद्धेय पार्टी सभापतिले मलाई मौका दिनुभएको छ । म त्यसलाई स्वीकार्छु । म उहाँलाई आदर र सम्मान पनि गर्छु । तर एउटा सांसदले पद रोज्ने कि विवेक ? मेरानिम्ति पदभन्दा विवेक ठूलो हो । त्यसकारण मैले संसदीय दलमा गगन थापालाई समर्थन गर्नु ठीक थियो । मैले प्रक्रियाभित्र प्रतिस्पर्धा गरेर नेतृत्व लिने कुरामा सहयोग गरेको हो । तर शेरबहादुर देउवालाई धोका दिएको कदापि होइन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।

राजनीति यथास्थितिले नचल्ने र पुस्तान्तरण जरुरी भएको पनि उनले औंल्याए । पौडेलले भने, ‘संसदीय दलमा गगनको पक्ष लिने मलाई कसैले दबाब दिएको थिएन । विश्वप्रकाश शर्मा र गगनको दबाब मान्नुपर्ने भन्ने के छ र ? शेरबहादुरजीले जित्नुभयो । अब त्यो अध्याय सकियो । बहुसंख्यक सांसदहरुले जे आवश्यक ठान्नुभयो, त्यसलाई सबैले स्वीकार्नुपर्छ । तर राजनीति यथास्थितिले चल्दैन । पुस्तान्तरण जरुरी छ ।’ देउवाले आम जनमानसको निराशालाई अन्त्य गर्ने गरी काम गर्नुपर्ने पनि उनले बताए ।

मन्त्री बन्नु आफ्नो प्राथमिकतामा नरहेको पनि पौडेलले बताए । उनले थपे, ‘मेरो प्राथमिकता मन्त्री मात्र भएको भए म यो बाटो हिँड्थे र ? मैले कृष्णप्रसाद सिटौला दाइलाई सम्मान गर्दै पुस्तान्तरणको पक्षमा उभ्याएको हो । उहाँ शेरबहादुर देउवाकै पक्षमा हुनुहुन्थ्यो, मैले गगन थापालाई समर्थन गरें । पुराना भत्किनु र नयाँ समीकरण बन्नु स्वाभाविक हो ।’

उनले गगन थापासँग पदका लागि कुनै सौदाबाजी नगरेको पनि स्पष्ट पारे । पौडेलले भने, ‘शेरबहादुर देउवा मुसुमुसु हाँसेर गगन थापासँग लड्नुभयो । उहाँ अनुमोदिनत हुनुुभयो । अब हाम्रो नेता शेरबहादुर रहनुभयो । चुनावमा हारजित हुन्छ । हामीले जित्नेभन्दा पनि राम्रोसँग प्रतिस्पर्धा गर्छौं भन्ने थियो । मैले पदमा निम्ति सौदाबाजी गरेको कुरा गलत हो । तर हामी पुस्तान्तरणको बहसलाई मर्यादित ढंगले अगाडि बढाइरहन्छौं । एक दिन सफल हुन्छ नै ।’ उनले पार्टीको पन्ध्रौं महाधिवेशनमा युवा पुस्ता हावी हुने विश्वास पनि व्यक्त गरे ।

अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने ठोकुवा पनि उनले गरे । पौडेलले भने, ‘संसदमा गणित प्रधान विषय हो । ठूलो पार्टी कांग्रेस हो । त्यसकारण कांग्रेसकै नेतृत्वमा सरकार बन्नु आवश्यक छ ।’ हिजोको शपथग्रहण समारोह आफ्ना लागि नौलो अनुभव भएको पनि उनले सुनाए । पौडेलले भने, ‘हामी पहिले दर्शक थियौं, अहिले खेलाडी भयौं । अब देशका निम्ति गोल हान्ने हो । मेस्सी बन्ने हो ।’ पहिलो पटक दौरा सुरुवालमा प्रस्तुत हुँदा अप्ठ्यारो लागेको पनि उनले सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot