Logo

राष्ट्रपतिका लागि उपयुक्त पात्र सुवासचन्द्र नेम्बाङ नै होः एमाले नेता



काठमाडौं, ११ पुस । नेकपा एमालेका नेता केशव बडालले देशमा सरकारविहीन अवस्थामा राख्न नमिल्ने भएकाले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन तयार भएको बताएका छन् ।
‘तोकिएको समयमा शेरबहादुर देउवाजीले सरकार दिन सक्नुभएन । विकल्पका रुपमा नेकपा एमालेले प्रचण्डको नेतृत्वमा सरकार बनाएको हो । हिजोका त्रुटि र कमजोरी इतिहासमा दर्ज भइसकेका छन् । यसको अर्थ हामीले सबै कुरा छाडेर प्रचण्डजीलाई सरकारको नेतृत्व दिएका होइनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले भने ।
एमाले र माओवादी केन्द्रबीच एकता होला भन्ने पत्रकार धमलाको प्रश्नमा बडालले थपे, ‘अहिले पार्टी एकताको प्रश्न उठेको छैन । संयुक्त सरकार बनाउनेबाहेक अरु प्रक्रिया सुरु भएको छैन । पार्टी एकता भविष्यको कुरा हो । असम्भव केही पनि छैन ।’
उनले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ राष्ट्रपति र सभामुख दुवै पदका लागि योग्य भएको पनि बताए । बडालले भने, ‘पार्टीमा इमानदार र योग्य व्यक्तित्व धेरै हुनुहुन्छ । तर सभामुख हुँदाखेरि सबभन्दा राम्रो सभामुख भएको र राष्ट्रपति हुँदा पनि राम्ररी चलाउन सक्ने सुवासचन्द्र नेम्बाङ हुनुहुन्छ । पार्टीमा लामो इतिहास भएका अमृत बोहरा र अष्टलक्ष्मी शाक्य पनि हुनुहुन्छ । कतिपय साथीहरुले केशव बडाल पनि भनिरहेका छन् ।’

 



प्रतिक्रिया दिनुहोस्