Logo

कोभिड–१९ को जोखिम न्यूनीकरण अन्तक्रिया



काठमाडौँ,११ पुष । सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्रियामा निष्कर्ष निकालिएको छ ।

कोभिड–१९ लगायत महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा विश्वमा कोरोनाले आक्रान्त पार्न थालेको र यसको चपेटामा परेर मृत्युदर पनि तीव्र गतिले बढिरहेको भन्दै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिइएको थियो ।

विराटनगर महानगरपालिकाले आयोजना गरेको अन्तक्रियामा सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, निजी संस्था, सञ्चारकर्मी, सुरक्षाकर्मी, चिकित्सक, अस्पताल, मेडिकल कलेज, निजी अस्पताललगायत विभिन्न निकायको कोरोना रोकथामका लागि जिम्मेवारीपूर्ण भूमिका हुने प्रष्ट पारिएको थियो ।

कार्यक्रममा महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले कोभिड–१९ को पहिलो र दोस्रो लहरमा देखिएका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने बताए । उनले खोप र स्वास्थ्यमापदण्डको अनिवार्य पालनाले जोखिम कम हुने बताए।

महानगरका वडाध्यक्षका तर्फबाट वडा नं १३ का वडाध्यक्ष सूर्यलाल यादवले विराटनगरका आँखा अस्पतालमा नेपालबाट मात्र नभइ भारतबाट बिरामी उपचारका लागि आउने भएकाले त्यस्तो ठाउँमा खोपदेखि कोरोना परीक्षण सञ्चालन गर्नुपर्ने बताए। जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले कोभिड–१९ रोकथामका लागि पूर्व तयारी आवश्यक रहेको बताए ।

उनले आइसोलेसन सेन्टर र होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न जरूरी रहेको बताए । उनले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्मले कोभिड–१९ को जस्तोसुकै स्थिति आए पनि त्यसको निराकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कोभिड–१९ का कारण जस्तोसुकै विषम स्थिति आए पनि महानगर सामना गर्न तयार रहेको बताए । उनले कोभिड–१९ विरूद्ध लड्न स्रोतसाधन जुटाउने काम गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरक्षेत्रभित्र स्वास्थ्यको अवस्था के छ, हेल्प डेस्कको अवस्था के छ भनेर बुझ्ने काम भइरहेको जानकारी गराए ।

महानगरको सामाजिक समितिका सभापति एवं वडा नं १ का वडाध्यक्ष काजीबहादुर बस्नेतले नयाँ भेरियन्टको नाम सुन्नासाथ महानगरपालिकाका जहाँ जहाँ स्वास्थ्य संस्था र हेल्प डेस्क छन् सो ठाउँको अनुगमन गरेर स्वास्थ्य सामग्री तथा स्वास्थ्यकमीका बारेमा जानकारी लिइएको बताए ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कुनै न कुनै रूपमा कोरोना निरन्तर आइरहने भएकाले खोपका माध्यमबाट नै रोकथाम गर्न सकिने बताए । उनले खोप नलगाएकालाई खोप लगाउने गरी सचेतना फैलाउन आवश्यक रहेको बताए ।

रानी भन्सारमा रहेको हेल्प डेस्कको फितलो व्यवस्थापन, भारतबाट नेपाल भित्रिने सवारीसाधनका सवार व्यक्तिको एन्टिजेन वा पीसीआर परीक्षण हुन नसक्नु मुख्य चुनौतीको रूपमा रहेको छ । सीमामा पाँच सय शय्या क्षमता भएको होल्डिङ सेन्टरको स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरमा विराटनगरका निजी स्वास्थ्य संस्थाले मनोमानी शुल्क असूलेको भन्दै सरोकारवाला निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । अस्पतालमा अक्सिजन र औषधिको अभाव हुन नदिन तथा आपूर्ति चक्रलाई नियमित, चुस्त र चलायमान बनाउन सरोकारवालाबीच सहमति बनेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot