Logo

मन्त्री बन्नका लागि जे पनि गर्दिनँः माओवादी सांसद



काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा आफू मन्त्री बन्ने जनअपेक्षा रहेको बताएका छन् ।
‘मन्त्री बन्छु कि बन्दिनँ, मलाई थाहा छैन । यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड प्रचण्डलाई नै थाहा होला । मोरङको सहरी क्षेत्रबाट पटकपटक चुनाव जितेको सांसद हुँ । स्वाभाविक रुपमा मन्त्रीमा मेरो दाबी छ । म सांसद मात्र भइराख्ने कुरा पनि आउँदैन । जनअपेक्षा पनि त्यही छ । तर म मन्त्री बन्नका लागि जे पनि गर्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मोदीले भने ।
वर्तमान चुनौतीको सामना गर्न प्रधानमन्त्री प्रचण्ड सफल हुने विश्वास पनि उनले व्यक्त गरे । मोदीले थपे, ‘प्रचण्डमा केही गरौं भन्ने इच्छाशक्ति छ । जनतालाई आशाको किरण दिलाउन सक्छु भनेर लागिरहनुभएको छ । अर्थतन्त्र डामाडोल छ । महँगी र भ्रष्टाचार बढेको छ । जनतामा निराशा छ । चुनौतीको चाङसँग उहाँले पौठेजोरी खेल्दै आउनुभएको छ । मलाई लाग्छ, प्रचण्ड सफल हुनुहुनेछ ।’
एमालेको समर्थनमा सरकार बने पनि अहिले कम्युनिस्ट पार्टीहरुबीच एकीकरण नहुने पनि मोदीले औंल्याए । उनले भने, ‘अहिले कांग्रेसको अपरिपक्वताले गठबन्धन टुट्यो । तर हामीले उहाँहरुकै भोटले जितेको हो । यसकारण पनि तुरुन्त एकता होला जस्तो मलाई लाग्दैन । विगतको एकताको जोडकोण समीक्षा हुन बाँकी छ, अन्तरघुलन हुन बाँकी छ । सुदूर भविष्यमा एकता चाहन्छौं । हामी सानासाना पसल थापेर जनतालाई दिग्भ्रमित पार्न चाहँदैनौं । बहुमतको सरकार बनाउन पनि कम्युनिस्हरुको एकता आवश्यक छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot