Logo

देउवाभन्दा पहिले गठबन्धन तोडेकाले प्रचण्डलाई प्रधानमन्त्री बनायौंः एमाले नेता



काठमाडौं, १३ पुस । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले गठबन्धन तोडेर सहकार्य गर्न आएकाले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाएको बताएका छन् ।
‘संसदमा जुन खालको शक्ति सन्तुलन छ, त्यसमा कसैको स्पष्ट बहुमत छैन । सरकार बनाउन सहयोग र समर्थनका लागि हामी गठबन्धन टुट्नुपर्छ भन्ने पक्षमा थियौं । हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा र प्रचण्ड दुवैलाई एउटै कुरा भन्नुभएको थियो । बेलुकी ५ बज्ने बेलासम्म पनि कांग्रेस आएन, प्रचण्ड तोडेर आउनुभयो । गठबन्धन तोडेर सहकार्य गर्न आउँदा हामीले किन समर्थन नगर्ने ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने ।
जनादेश लिएर आएका दलहरुसँगको सहकार्य स्वाभाविक भएको पनि उनले औंल्याए । डा. भट्टराईले भने, ‘जनताको भन्दा ठूलो फैसला के छ ? निर्वाचनबाट संसदमा आएका दलहरुलाई सहकार्य गर्नु लोकतान्त्रिक संस्कार नै हो । हाम्रा अध्यक्ष ओलीले शेरबहादुर देउवा, प्रचण्ड, महन्थ ठाकुर सबैलाई बधाई दिनुभयो । गठबन्धन नतोडीकन वार्तामा नबस्ने भन्ने सर्त मानेकाले प्रचण्डलाई प्रधानमन्त्री बनायौं । यसमा कुनै कुरा छिपेको छैन ।’



प्रतिक्रिया दिनुहोस्