Logo

स्वच्छ र इमानदार भएर बाँच्न चाहनु नै मेरो जीवनको आदर्श हो : शार्दूल भट्टराई



नाम : शार्दूल भट्टराई
जन्ममिति : विक्रम सम्वत् २०१७ असोज १६
पिता/माताः बोधराज भट्टराई÷शान्ता भट्टराई
अध्ययन : एमए
प्रथम प्रकाशित रचना : भुँवरी कविता, वि.सं. २०३३
प्रकाशित कृति : बाँसुरी आतङ्क (नाटक) र पुल खस्यो (कविता)
प्रकाशनोन्मुख कृति : जनैको डर (निबन्ध) र नयाँ पात्र (नाटक)

यहाँको लेखन कार्य विशेषतः साहित्य कहिलेबाट सुरु भयो ?
– मैले कविता लेखनबाट साहित्य सिर्जना सुरु गरेको हुँ– जसको समय वि.सं. २०३१÷३२ थियो । पहिलो रचना प्रकाशित भएको चाहिँ २०३३ मा हो । त्यो पहिलो प्रकाशित रचना ‘भुँवरी’ शीर्षकको कविता थियो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
– सुरुमा लहैलहैमा कविता लेख्न थालेको हुँ । अरूले कविता लेखेर पाठ गर्ने र पत्रपत्रिकामा छाप्ने गरेको देखेर आफूलाई पनि लेख्ने रहर लाग्यो । अलि पछि सामाजिक घटनाले पनि प्रभावित गरे । त्यसपछि प्रतियोगिताहरूले पनि लेख्ने कुरामा प्रेरणा दिए । विद्यालयमा पढ्दा त्यहाँ हुने विभिन्न साहित्यिक कार्यक्रम, खासगरी विद्यालयस्तरीय प्रतियोगितात्मक कविता गोष्ठीहरूले पनि कविता सिर्जनामा प्रेरणा दिने काम गरे । विद्यालयमा हुने कविता प्रतियोगितामा एकपटक प्रथम भएपछि म कविता लेखनमा हौसिएको थिएँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
– सामान्य ढंगले । कुनै विशिष्ट वा उल्लेखनीय गतिविधि केही छैन । म कुनै ठूलो लेखक पनि होइन । कुनै विशिष्ट रचनाको सिर्जना गर्न सकेको पनि छैन । मेरो लेखन सामान्य हो र सामान्य ढंगले नै लेखन–कर्म चलिरहेको छ । कुनै विशेष ढंगले अगाडि बढेको छैन ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
– असन्तुष्ट केहीमा पनि छैन । म सबै कुरामा सन्तुष्ट छु । जे÷जस्तो लेखेको छु वा लेखिरहेछु, ती कुनै विशेष वा विशिष्ट कुरा होइनन् । सबै सामान्य कुरा हुन् । तैपनि म असन्तुष्ट छैन । म आफैं पनि सामान्य मानिस हुँ । त्यसैले पनि होला– सामान्य कुरामा नै खुसी हुन्छु र रमाउँछु । आफूले राम्रो लेख्न नसके पनि अरूले राम्रो लेखेको देख्दा खुसी लाग्छ ।

नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?
– दुईवटा कृति निकट भविष्यमै प्रकाशन हुँदैछन् । त्यसबाहेक अर्को एउटा लामो नाट्यरचनामा लागेको छु । त्यो पनि चाँडै प्रकाशन हुन्छ होला ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
– साहित्यमात्र होइन– राष्ट्रको जिम्मेवारी सबैप्रति रहन्छ । त्यस्तै, स्रष्टाको पनि राष्ट्रप्रति जिम्मेवारी रहन्छ । जुन स्रष्टाले राष्ट्र र जनताप्रति जिम्मेवार भएर लेख्दैन– त्यो कसरी लेखक हुन सक्ला र ? त्यसैले स्रष्टालाई राष्ट्रले हेर्नुपर्छ भन्ने होइन– स्रष्टाले पनि देशलाई माया गर्न जान्नुपर्छ । स्रष्टाले देशलाई माया ग¥यो भने नै राष्ट्रले पनि स्रष्टालाई माया गर्छ । राष्ट्रलाई माया नगर्ने स्रष्टालाई राष्ट्रले चाहिँ माया गर्नुपर्छ भन्ने छैन ।

तपाईंको साहित्यिक आदर्श के हो ?
– त्यसरी सार्वजनिक रूपमा भन्नैपर्ने जस्तो आदर्श केही पनि छैन । जीवनमा ठूलो आकांक्षा र आदर्श मैले केही पनि बोकेको छैन । स्वच्छ र इमानदार भएर बाँच्न चाहनु नै मेरो जीवनको आदर्श हो जस्तो लाग्छ । त्योभन्दा ठूलो आदर्श मेरो जीवनमा केही पनि छैन । त्यही कुरा आफ्नो लेखनमा पनि अभिव्यक्त गर्ने प्रयास गरिरहेको छु तर सकिरहेजस्तो लाग्दैन । तैपनि सिक्दै छु । म अहिले पनि सिक्नेक्रममै छु जस्तो लाग्छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
– देश, जनता, जीवन र समाजलाई बुझेर लेख्ने हो भने लेखकका धेरै दायित्व हुन्छन् । तर मैले त्यो दायित्व पूरा गर्न सकेको छैन । धेरै कुरा अझै पनि बुझ्नै बाँकी रहेकाले मैले लेखकीय दायित्व वहन गर्न सकिरहेको छैन ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
– मैले अघि नै भनें– म कुनै पनि कुरामा असन्तुष्ट छैन । जे गरिरहेछु– सन्तुष्ट भएरै गरिरहेछु । आफूलाई जे मन लागेको छ– त्यही गरिरहेछु । त्यसैले पनि सन्तुष्ट छु । आफैँ असन्तुष्ट हुने काम त किन गर्नुप¥यो र ?

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
– हिजोको लेखन हिजोकै समयसापेक्ष थियो । आज समय परिवर्तन भएको छ । आजको लेखनले आजकै समयलाई प्रतिविम्बित गरिरहेको छ । लेखनकलामा पनि केही परिवर्तन भएका छन् । विशेषतः लेखनशैलीमा नयाँ खालको विकास भएको छ । लेखनशैलीमा नयाँ प्रयोग पनि बढेका छन् । साहित्यतिर पाठकलाई आकर्षण गर्ने काम अहिलेको लेखनले बढी मात्रामा गरेझैँ लाग्छ– यो राम्रो कुरा हो ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
– साहित्य जीवन र जगत्का लागि लेखिनुपर्छ । त्यस अर्थमा साहित्य जहिले पनि समाजप्रति उत्तरदायी हुँदा राम्रो हुन्थ्यो जस्तो लाग्छ । जीवनलाई नछुने साहित्यको खासै महत्व हुन्छ जस्तो मलाई लाग्दैन । जुन साहित्यले जीवनलाई छुन्छ– त्यसको सामाजिक महत्व झन बढी रहन्छ जस्तो लाग्छ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?

– लेखनमा प्रेरणा दिने घटना वा चरित्र धेरै हुन सक्छन् । सामान्य वा विशेष, जुनसुकै घटनाले लेखनलाई प्रेरित गर्न सक्छ । व्यक्तिगत जीवनको सामान्य घटना पनि प्रेरणाको रूपमा प्रकट हुन सक्छ भने समाजका घटनाले पनि लेखनलाई प्रभावित र प्रेरित गरिरहेका हुन्छन् । तिनलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराचाहिँ लेखकको आफ्नो धरातल, जीवनदृष्टि र वैचारिकतामा निर्भर गर्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
– त्यस्तो खास समय छैन । लेख्ने इच्छा जागृत भएको बेला र समयको अनुकूलतामा लेख्ने गर्छु । यही समयमा लेख्छु भनेर जबर्जस्ती लेख्ने कुरा पनि हुँदैन । लेखनको समय, परिस्थिति वा वातावरणको निर्माण गर्ने काम लेखककै मन–मस्तिष्कले निर्धारण गर्छ । ं

लेख्न कस्तो वातावरण चाहिन्छ ?
– यो कुरा लेखकको आ/आफ्नो स्वभावमा भरपर्छ । कोही होहल्लाका बीच पनि लेखिरहेकै हुन्छन् । कोही एकान्तमा लेखिरहेका हुन्छन् । कोही÷कोही संगीतको आवाजविना लेख्नै नसक्ने कुरा पनि गर्छन् । तथापि, लेखकलाई कल्पनाशील बनाउने र लेखकको मन–मस्तिष्कलाई लेखनमा एकाग्र राख्ने वातावरण आवश्यक हुन्छ जस्तो लाग्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
– देखेका, भोगेका र सुनेका कुराका आधारमा । विषयवस्तु मानव समाजबाटै लिने हो । मानव समाजको जुन घटना वा चरित्रले बढी प्रभावित गर्छ– त्यसैलाई विषयवस्तुका रूपमा उपयोग गर्ने प्रवृत्ति लेखकहरूमा पाइन्छ । म पनि त्यही प्रवृत्तिको व्यक्ति हुँ ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
– लेखकको सफलतालाई निर्धारण गर्ने एउटै मात्र कुरा उसको लेखकीय क्षमता नै हो । जीवन र जगत्लाई गहिरोसँग बुझ्न सक्ने लेखकीय क्षमता नै सफल लेखकको महत्वपूर्ण गुण हो भन्ने लाग्छ ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
– पाठक सबै विधाका छन् । तर पनि अहिलेको सन्दर्भमा भन्ने हो भने आख्यानका पाठक बढी छन् ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्