Logo

गृह नपाएपछि रिसाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएनन्



काठमाडौं, १३ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन् । उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए ।

प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि शपथ खान तयार हुन भनेका थिए । तर, संसद्को चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरेपछि दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाए ।

दाहालको उक्त निर्णयपछि नारायणकाजी असन्तुष्ट बनेको स्रोतको दाबी छ । गृह नपाएपछि श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने चर्चा पनि थियो । तर, श्रेष्ठले आफू परराष्ट्रमा नजाने अडान लिएपछि उनलाई भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सुम्पिएको हो ।

शितलनिवासमा शपथ लिएर सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दा नै श्रेष्ठ आक्रोशित थिए । उनी त्यति खुशी थिएनन् । सो क्रममा उनले मन्त्रालयका कर्मचारीले पहिलो निर्णयको लागि तयार पारेको फाइलमा सुरुका दुई वटा निर्णयमा हस्ताक्षर नै गर्न नमानेको चर्चा भयो ।

पछि तेस्रो बुँदाको निर्णयमा भने उनले हस्ताक्षर गरेका थिए । शपथ खाएकै दिन साँझ मन्त्रालय पुगेका उपप्रधानमन्त्री श्रेष्ठ दुई दिनदेखि मन्त्रालय नै गएका छैनन् । उनी हात्तिवनस्थित् आफ्नै निजी निवासमा भेटघाटमा व्यस्त रहेको जनाईएको छ ।

मन्त्री श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई पनि उनको निवासमा पुगेर बधाई दिएका छैनन् । आज मन्त्रालयमा पुगेर सोध्दा मन्त्री श्रेष्ठ हिजो र आज दुवै दिन मन्त्रालय आएका छैनन् ।

प्रधानमन्त्री दाहाल भने पदभार ग्रहण गरेको दिनदेखि नियमित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आउने गरेका छन् । प्रधानमन्त्री दाहाल यो समाचार तयार पार्दासम्म सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सेनाका प्रमुखसँग भेटवार्तामा छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot