Logo

नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल



काठमाडौँ,१३ पुष । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनिहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । “उनिहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उनले भने ।

दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उनिहरुबीच छलफल भएको मल्लले जानकारी दिए । “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उनले भने ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए । सो बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ । सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गरेको जानकारी दिँदै उनले सो क्रममा सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गरेको जानकारी दिए । रासस

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot