Logo

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र



सिद्धार्थनगर, पुस १४ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण गरिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले भने, “सञ्चालन कार्यविधि तयार नहुँदा सम्मेलन केन्द्रलाई बन्द राख्नु परेको छ ।”

सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन कार्यविधि तयार गरेर सङ्घीय सहरी विकास मन्त्रालयमा पठाएको थियो । कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ ।

सरकारले २०६५ सालमा सभाहल निर्माण गर्ने निर्णय गरेको थियो । सोअनुरूप २०७१ माघ १५ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माण सुरु हुन नपाउँदै २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, मधेश आन्दोलन र कोभिड–१९ को महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा ढिलाइ भएको थियो । केन्द्र भवन निकै आकर्षक छ । बुटवल मण्डपमा बनेका सबै संरचना आकाशबाट हेर्दा चन्द्रसूर्यको आकारमा तयार पारिएको छ ।

कार्यविधिमा केन्द्रमा रहेका पाँच सय जना क्षमताको सभाहल नगरपालिका वा गाउँपालिकाले सञ्चालन गर्न पाउने र उपमहानगरपालिकाले सात सय जना क्षमताको र महानगरपालिकाले एक हजार सिट वा सोभन्दा बढी क्षमताको सभाहल सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot