Logo

प्रधानमन्त्री दाहाल र ओली माधव नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ?



काठमाडौं, १५ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (एमाले) ले राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सार्ने खबर राजनीतिक वृत्तमा चर्चामा छ । नेकपाको आन्तरिक किचलोदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा उभिएर एमाले विभाजन गराएका माधव नेपाल लामो समयसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सानिध्यमा रहेर नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा रहे ।

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा स्विकार नगरेसँगै प्रचण्ड एमालेसहितका विभिन्न सात दलको समर्थनमा प्रधानमन्त्री बने । यता एकीकृत समाजवादीले संसदीय राजनीतिमा राष्ट्रिय दलको मान्यतासमेत पाउन सकेन । यस्तो अवस्थामा पार्टीको औचित्यमाथि नै प्रश्न उठेको केही नेताहरुले अभिव्यक्ति दिन थालेका छन् भने नेता नेपाल पार्टीका नेता तथा कार्यकर्तासँग आन्तरिक परामर्श र सुझाव माग्दै ‘पर्ख र हेर’ को अवस्थामा छन् । यस्तो अवस्थामा एकीकृत समाजवादीले पार्टी एकीकरणको विकल्प रोज्ला वा पार्टीको आन्तरिक सुदृढीकरणतर्फ लाग्ला त्यो प्रतीक्षाको विषय बनेको छ । राष्ट्रिय दलको मान्यतासमेत नपाएको एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिका रुपमा स्वीकार्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन तयार छन् ? भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएको छ ।

एमालेभित्रका दोस्रो पुस्ताका नेताहरु गोकुल बाँस्कोटा, सूर्य थापा, विष्णु रिमाल, डा. राजन भट्टराईलगायतका नेताहरु नेता नेपालको पार्टी एकीकरण गरी उनलाई राष्ट्रपतिको रुपमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । त्यस्तै, एमालेकै अर्काथरी नेताहरु भने वाम एकताको विकल्प नरहेको भन्दै माधव नेपाललाई एमालेमा ल्याउनको लागि सक्रिय भएका छन् । यसको लागि सबैभन्दा बढि सक्रिय भएर महेश बस्नेत खटिएका छन् । पछिल्लो दुई सातामा बस्नेतले नेपालसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् ।

एमाले नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीका नेता/कार्यकर्तालाई पार्टीमा भित्र्याउने पक्षमा रहेको छ । नेपाललाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादीलाई एमालेमा समाहित गराउन सजिलो हुने बुझाईमा एमाले छ । एमाले र एकीकृत समाजवादीबीच एकता भएमा संसदको पहिलो शक्ति भएर निर्णायक बन्न सक्छ । तर, प्रचण्ड एमालेबाहेकका वाम शक्तिलाई जोडेर बलियो पार्टी बनाउने दाउमा छन् ।

नेकपाको विघटनसँगै तत्काल एमालेसँग वाम एकताको सम्भावना नदेखेका प्रचण्ड नेता नेपाललाई राष्ट्रपति बनाएर माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी, वामदेव गौतम समूह र प्रभु साह समूहलाई समेत जोडेर ठूलो पार्टी बनाउने दाउमा छन् । प्रचण्ड पनि नेता नेपाललाई राष्ट्रपति स्वीकार गर्ने पक्षमा छन् ।

गत मंसिर ४ को निर्वाचनले एकीकृत समाजवादीलाई कमजोर पार्टीका रुपमा स्थापित गराएसँगै नेता नेपाल नेतृत्वको पार्टीलाई विलय गराई निर्णायक शक्ति बन्ने दाउमा ओली र दाहाल दुवै सक्रिय छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot