Logo

विश्वासको मत सहजै प्राप्त गर्नेमा प्रधानमन्त्री दाहाल ढुक्क



काठमाडौं, १७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत प्राप्त गर्नेमा ढुक्क छन् । यही पुष ११ गते दाहालले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका थिए । उनी पुष १० गते एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदहरुको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पुष ११ गते नै दाहालले ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । तर, चार जना मन्त्रीको अहिलेपनि कार्यभार तोकिएको छैन् । यो बीचमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारलाई पूर्णता दिने र न्यूनतम साझा कार्यक्रम तयार गर्नेबारे घनिभूत छलफल भैरहेको छ । सरकारलाई समर्थन गरेका राप्रपा र जसपा भने अहिलेसम्म सरकारमा सहभागी छैनन् । तर, उनीहरु पनि सरकारमा सहभागी हुन सकारात्मक छन् ।

राप्रपाले केही शर्त अघि सारेको छ भने जसपाले पार्टीमा छलफल गराएर निर्णय लिँदैछ । प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार उनले अब बस्ने संसद्को पहिलो अधिवेशन बैठकपछि सत्ता गठबन्धनमा छलफल गरेर विश्वासको मत लिने मिति तय गर्ने भएका छन् । उनले यही पुष २८ वा २९ गते विश्वासको मत लिने बुझिएको छ । यसअघि आफूलाई समर्थन रहेको सांसदहरुको संख्या १६९ कायमै रहने र त्यसमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का १० सांसदहरुको थप समर्थन हुनेमा दाहाल विश्वस्त छन् ।

नेकपा (एकीकृत समाजवादी) ले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नै नभएको बताएको छ । नेकपा (एस) को स्थायी कमिटी बैठक हिजोदेखि जारी छ । आजै उक्त बैठकले यसबारेमा ठोस निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री दाहाल भने विश्वासको मत प्राप्त गर्नेमा ढुक्क छन् । विश्वासको मत पाएपछि प्रधानमन्त्रीविरुद्ध आगामी २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot