Logo

जीडीपीमा मधेश प्रदेशको हिस्सा १३ प्रतिशत



काठमाडौं, पुस १९ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकामा मधेश प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

मधेश प्रदेश वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेनले मधेश प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत रहने अनुमान गरेको छ ।

राष्ट्र बैङ्कले मधेश प्रदेशका आठ जिल्लाका आर्थिक गतिविधिको अवस्थाबारेमा अध्ययन गरेको थियो । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४ दशमलव ५ प्रतिशत, ११ दशमलव ९ प्रतिशत र ५३ दशमलव ६ प्रतिशत रहने अनुमान गरिएको छ ।

मधेश प्रदेशमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ३ दशमलव २४ प्रतिशतले वृद्धि भई ८४ हजार ५०७ हेक्टर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशका आठ जिल्लामा ४६ लाख ९५ हजार ८०२ मेट्रिक टन खाद्य तथा अन्य बाली उत्पादन भएको छ । सो अवधिमा ११ लाख ५७ हजार ४७३ मेट्रिक टन तरकारी तथा बागवानी, पाँच लाख २९ हजार ३३५ मेट्रिक टन फलफूल तथा मसला उत्पादन भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

उत्पादित तरकारीमध्ये सबैभन्दा बढी महोत्तरी जिल्लामा तीन लाख ११ हजार पाँच सय मेट्रिक र पर्सा जिल्लामा सबैभन्दा कम ७२ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot