Logo

मलेसियामा जाने दैनिक एक हजार बढी



काठमाडौं, पुस १९ । पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

मध्यपूर्वका देशमा भन्दा मलेसियामा तलब सुविधा राम्रो हुँदै गएकाले नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बन्न सफल भएको हो । गएको मङ्सिरमा मात्रै मलेसियाका लागि करिब ३६ हजार जनाले श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागअन्तर्गतको वैदेशिक रोजगार ताहाचल कार्यालयका अनुसार मङ्सिरमा संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति गरी ९४ हजार ४१२ जनाले श्रम स्वीकृति लिएकामा ३५ हजार ८८९ जनाले मलेसियाका लागि मात्रै श्रम स्वीकृति लिएका छन् ।

यसमा संस्थागत रूपमा ६८ हजार ५६५ जनाले श्रम स्वीकृति लिएकामा मलेसियाका लागि मात्रै २६ हजार छन् । सो अवधिमा पुनः श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या २१ हजार ५०८ रहेको छ भने व्यक्तिगत रूपमा श्रम स्वीकृति लिनेको सङ्ख्या चार हजार ३४० रहेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा खाडीका ९कतार, साउदी, यूएई, ओमान०लगायतका देशमा जाने नेपाली ८० हजारको हाराहारीमा पुग्दा मलेसियामा जानेको सङ्ख्या भने एक लाख ६६ हजार नाघेको छ ।

विभागका अनुसार मङ्सिरसम्म एक लाख ६६ हजार ४७० जना नेपाली मलेसिया गएका छन्, जुन गत वर्षको सोही अवधिको तुलतामा पाँच गुणाले वृद्धि देखिएको छ । गत वर्ष पहिलो श्रम गन्तव्य बनेकोे कतार यस पटक दोस्रो स्थानमा छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot