Logo

वडास्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका



काठमाडौँ,१९ पुष । स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् ।

प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको वडा नं ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए।

“गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ”, अध्यक्ष मगरले भने ।

आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् ।

गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नं ३ भुल्के, वडा नं ७ बासिखोरा, वडा नं ५ मानेभञ्ज्याङ, वडा नं ६ बैकुण्ठे र वडा नं ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नं ४, १ र २ नं वडामा योजना सम्झौता गर्न बाँकी छ ।

वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न एक दिन नै लाग्ने र खर्चसमेत हुने समस्या हटेकाले स्थानीय खुसी भएको अध्यक्ष राईले बताए । गाउँपालिकाले पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोलटोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए । रासस

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot