Logo

दूधको मूल्य वृद्धि फिर्ता



काठमाडौं, पुस २०। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् ।

डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको थियो । तर, उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो ।

मूल्य वृद्धि गर्ने आवश्यकताको अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवको नेतृत्वमा कार्यदलसमेत गठन गरिएको छ । सो कार्यदलले देशैभर अध्ययन गरेर दूधको मूल्य वृद्धि सम्बन्धमा प्रतिवेदन बुझाएपछि थप निर्णय लिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot