Logo

सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन मस्यौदा कार्यदलको बैठक



काठमाडौं, २१ पुष । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम भोलिसम्ममा ल्याउने भएका छन् । सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र दोषको आधारमा मात्रै सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनलाई जतिसक्दो चाँडो सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारी भएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भने आज बस्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको बैठक आज दिउँसो १ बजे अर्थमन्त्रालयमा बस्ने भएको हो । आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ । गठबन्धनका दलहरुले दिएको सुझावका आधारमा कार्यक्रमलाई पूर्णता दिने पक्षमा कार्यदल रहेको छ ।

कार्यदलमा अर्थमन्त्री पौडेलसहित माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल, राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका छन् । हिजो मात्रै बालुवाटारमा बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले बताएका थिए।

गृहमन्त्री लामिछानेका अनुसार भ्रष्टाचार र महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ। यस्तै, सुशासन, राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार, समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका चार मुख्य एजेन्डा प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने सरकारको तयारी रहेको नेताहरूको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot