Logo

संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची



काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो।

संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन्। प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ७ जनाको नाम घोषणा गर्नेछ।

प्रतिनिधिसभाको कार्यसूचीअनुसार पहिलो बैठकमा दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिइनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावको दिन र समय आजको बैठकले तोक्नेछ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते मंगलबार विश्वासको मत लिने प्रस्ताव पेश गर्न संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन्। मंसिर ४ गते भएको चुनावी नतिजाले प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ।

सरकारलाई ७ दलले समर्थन दिएका छन्। सरकारलाई समर्थन गर्ने दलहरू सत्ता र समर्थन नगर्ने दल प्रतिपक्षमा बस्नेछन्। २७५ सदस्यीय प्रतिनिधिसभाका एक सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परिसकेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेल र झेलबहादुर आले, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot