Logo

अब वडामै मेलमिलाप



काठमाडौँ,२५ पुष । वडातहमै कानुनी उपचारका लागि सूर्यविनायक नगरपालिकाले अब वडास्तरमै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडातहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडास्तरमै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले प्रत्येक वडामा उक्त केन्द्र सञ्चालन गर्न आजदेखि प्रशिक्षण दिन थालेको हो । आठ दिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक वडाबाट तीन जनाको दरले १० वटै वडाका ३० महिला कानुनी प्रशिक्षणमा सहभागी भएका छन् ।

प्रशिक्षण शुभारम्भ गर्दै नगर प्रमुख वासुदेव थापाले आफ्ना नागरिकलाई वडातहमै न्यायिक पहुँच पु¥याउने उद्देश्यले मेलमिलापकर्ताका लागि कानुनका विज्ञबाट सञ्चालन गर्न लागिएकोे कानुनी र व्यवहारिक प्रशिक्षणले समस्या समाधानमा सघाउ पुग्ने बताए । यसबाट कतिपय समस्या वडातहमै समाधान गर्न सकिने भए पनि त्यस्तो व्यवस्था नहुँदा पीडित न्याय माग्दै नगरपालिकाको न्यायिक समिति र अदालतसम्म पुग्नुपर्ने समस्या अन्त्य हुनाका साथै नगरवासीका विभिन्न समस्या वडास्तरमै समाधान गर्न मेलमिलाप केन्द्र प्रभावकारी हुने उनको भनाइ थियो ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका प्रमुख सरिता भट्टराईले प्रशिक्षण सम्पन्न भएलगत्तै नगरपालिकाले आफ्ना सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने योजना बनाएको बताए । जनताको समस्या समाधान गर्न आवश्यक समन्वय गर्दै कसैलाई अन्याय हुन नदिन नगरपालिका कटिबद्ध रहेको चर्चा गर्दै उनले नगरपालिका ऐन, नीति, नियम र विधिले चल्ने निकाय भएकाले जनताको सकारात्मक साथ र सहयोग सधैँ रहने उल्लेख गरे ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रत्येक वडामा आएका समस्यालाई वडातहमै समाधान गर्ने र वडा तहमा समाधान हुन नसके मात्रै नगरपालिका वा माथिल्लो निकायमा जाने बाटो देखाउने गरी अगाडि बढ्न केन्द्र सफल हुनेमा विश्वास व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot