Logo

प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु संसद्को मुख्य लक्ष्य : नेता यादव



काठमाडौँ,२५ पुष । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताए ।

“गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो”, उनले भने, “सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिका सरकारको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन, संविधानले दिएको अधिकार प्रदेशलाई हस्तान्तरण हुन सकेको छैन । सङ्घले नै सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको आभास भइरहेको छ ।”

सङ्घीयतालाई असफल बनाउँदै पुनःकेन्द्रिकृत शासन फर्काउने प्रत्यत्न भएको दाबी गर्दैै प्रमुख सचेतक यादवले सङ्घीयतालाई बलियो बनाउने काम सबैले गर्नुपर्ने बताए । “प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यसका लागि विभन्न कानून बनाउनुपर्छ”, उनले भने । जनतलाई सङ्घीयताको अनुभूति दिलाउनका लागि अत्यावश्यक मानिएका निजामती, प्रहरीलगायत ऐन अझै जारी हुन नसकेको उनको भनाइ छ ।

नागरिकता विधेयक टुङ्गोमा नपुग्दा लाखौँ नेपाली अझै अनागरिक बन्नुपरेको पुनः स्मरण गराउँदै उहाँले तुरुन्त नागरिकता विधेयक पारित गरेर गैरनागरिक बनेका नेपालीलाई नागरिकता दिलाउन आग्रह गरे। वर्तमान सरकारले जनताको अपेक्षाअनुसारको काम गर्ने विश्वास व्यक्त गर्दै उनले सरकारले जनजीविकाका सवाल सम्बोधन गर्न ध्यान दिनुपर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot