बजार बुलिश ट्रेन्डमा गएको संकेत


काठमाडौं, पुस २६ । निरन्तर घट्दो क्रममा रहेको शेयरबजार नयाँ सरकार गठन भएसँगै २२०० विन्दुभन्दा माथि उक्लिएको छ । सरकारदेखि नीतिगत परिवर्तनसँगै बढेको बजार अब बुलिश लयमा फर्किएको धेरैले आकलन गरेका छन् ।

पछिल्ला दिनहरूमा बजार दैनिक औसत ५०/६० अंकसम्म बढिरहेको छ । कारोबार रकम पनि ४/५ अर्ब रुपैयाँ पुगेको छ । विगत १२ दिनमा मात्र शेयरबजार सूचक नेप्से ३४५ अंकले बढिसकेको छ । यो १८ दशमलव ४५ प्रतिशतको वृद्धि हो ।

शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला एउटा बटम लगाएर निरन्तर बढेको बजारले ३२०० को रेकर्ड पनि ब्रेक गर्ने सम्भावना रहेको बताउँछन् । अहिलेको बजार हेर्दा बुलिश लयमा फर्केको संकेत देखिइसकेको उनको भनाइ छ ।

सीबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठ अहिलेको शेयरबजार नीतिगत घटनाक्रमअनुरूप अघि बढेको बताउँछन् । सरकार गठनदेखि राष्ट्र बैंक, अर्थ मन्त्रालयको नीतिहरूका कारण बजारमा सकारात्मक माहोल सृजना भएको श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्रीले मंगलवार संसद्मा विश्वासको मत लिएसँगै बजारमा अर्को माहोल सृजना हुने श्रेष्ठको विश्वास छ । त्यसका साथै अब माघमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाए भने बजार थप ‘बुस्ट’ हुने उनले दाबी गरे ।

विगतमा जस्तो अहिले दैनिक २०/२२ अर्बको शेयर कारोबार हुने सम्भावना भने कम रहेको श्रेष्ठ बताउँछन् । ‘राष्ट्र बैंकले बैंकहरूलाई शेयरबजारमा लगानी गर्न अहिले कडाइ गरेका कारण बजारमा विगतमा झैं कारोबार हुने सम्भावना कम छ,’ उनले भने ।

शेयरबजार पछिल्लो समयको न्यूनतम विन्दु १८१५ बाट करीब ४०० अंक (३९६ अंक) को वृद्धिसहित २२११ विन्दुमा आएको छ । यो भनेको करीब २२ प्रतिशतको वृद्धि हो ।

बजार २० प्रतिशतले तल वा माथि हुनुलाई केही विश्लेषकले बजारले ट्रेन्ड परिवर्तन गरेको रूपमा लिन्छन् । अर्थात् बजार २० प्रतिशतले बढ्दा बुलिश ट्रेन्ड र २० प्रतिशतले नै घट्दा बियरिस ट्रेन्डमा गएको रूपमा लिन्छन् ।

केही विश्लेषकले शेयरबजार धेरै दिन बढ्ने र थोरै दिन मात्रै घट्ने ट्रेन्ड चल्यो भने त्यसलाई पनि बुलिश ट्रेन्डमा गएको रूपमा अर्थ लगाउँछन् ।

अर्थात् ३/४ दिन बजार बढ्ने र १/२ दिन घट्ने ट्रेन्ड चले पनि यस्तो बेलामा समग्र बजार बढिरहेको हुन्छ, जुन पछिल्लो ११ कारोबार दिनको तथ्यांकले पुष्टि गर्छ । ११ मध्ये २ दिन मात्रै बजार घटेको छ । ९ दिन बढेको छ ।

त्यस्तै वित्तीय अवस्था कमजोर भएका कम्पनीहरूको शेयर मूल्य निरन्तर बढ्नुलाई पनि बजार बुलिश ट्रेन्डमा गएको रूपमा अर्थ लगाइन्छ । पछिल्लो समय फाइनान्स, हाइड्रोपावरलगायत समूहगत सूचकमा आएको वृद्धिले पनि त्यसलाई पुष्टि गरिरहेको छ । आर्थिक अभियान दैनिकबाट