काठमाडौं, २७ पुस । इतिहासकार डा. रमेश ढुंगेलले पृथ्वीनारायण शाहकाे सालिक ढाल्नेहरूले पुस २७ मा सार्वजनिक बिदा दिएर विगतकाे गल्ती आत्मसात गरेकाे बताएका छन् ।
‘पृथ्वीनारायण शाहका बारेमा भ्रमपूर्ण व्याख्या गरेर भुइँफुट्टाहरूबाट विगतमा सालिक ढालेर धुलिमैदान बनाउने काम भएकाे थियाे । अहिले त्यसका नेतृत्वकर्ताले नै उनकाे जन्मजयन्तीमा सार्वजनिक बिदा दिनु भनेकाे सत्यकाे रियलाइजेसन हाे,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै ढुंगेलले भने ।
अब पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा पुनर्जीवित गर्नुपर्ने उनले औंल्याए । ढुंगेलले थपे, ‘त्याे युगमा लेफ्ट-डेमाेक्र्याट भन्ने थिएन । पृथ्वीनारायण शाह सामन्तकालका राजा भए पनि साझा संस्कृतिकाे उत्थान गर्ने कुशल अधिनायक हुन् ।
उनले भुरेटाकुरे राजा रजाैटालाई मिलाएर अंग्रेज महाशक्तिसँग लडे ।’ इतिहासकार ढुंगेलले पृथ्वीनारायण शाहकाे तस्बिर राखेर नाेट बनाउनुपर्ने पनि बताए ।
‘अमेरिकामा जर्ज वासिङटनकाे टाउकाे राखेर नाेट बनाइएकाे छ । उनकाे टाउकाेलाई राष्ट्रिय एकताकाे प्रतीक मानिएकाे छ । अब नेपालमा पनि पृथ्वीनारायण शाहकाे टाउकाे राखेर नाेट बनाउनुपर्छ ।’




प्रतिक्रिया