Logo

सुनसान बन्दै सगरमाथा क्षेत्र



काठमाडौं, २७ पुस । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्किएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत बढी रहेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा सात हजार ४६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए । चालू आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २५ हजार २९ जना पर्यटक भ्रमण सकेर फर्किएका छन् ।

निकुञ्जका सूचना अधिकारी मनोज मण्डलका अनुसार चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै अहिले सगरमाथा क्षेत्र सुनसान बन्न थालेको छ ।

यस क्षेत्रका नागरिकको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले ‘सिजन’ सकिएसँगै व्यवसायी आगामी फागुनमा फर्किने गरी सगरमाथा क्षेत्रबाट बाहिरिन थालेको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका अनुसार प्रतिकूल मौसमका कारण पुस १४ गतेदेखि एक साता ठप्प रहेको लुक्लाको उडान मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप अत्यधिक रहेकाले र दैनिक सातवटा उडान भइरहेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा ३८५, भदौमा ६९०, असोजमा छ हजार ७३१, कात्तिकमा १३ हजार १५८ र मङ्सिरमा चार हजार ६५ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । पाँच महिनाको अवधिमा २१ हजार ८५३ जना विदेशी र तीन हजार १७६ जना नेपाली पर्यटक सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्किएका हुन् ।

भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार ९९० सार्क मुलुकका र १० हजार ८६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार १७६ रुपियाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जले स्वदेशी नागरिकबाट प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रका पर्यटकबाट एक हजार पाँच सय र अन्य मुलुकका पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा उचाइमा रहेको निकुञ्ज हो । यहाँ सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराको दर्शन गर्न बर्सेनि हजारौँ पर्यटक पुग्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot