Logo

चैत–वैशाखमा फुल्नुपर्ने स्याउ पुसमै फुल्यो



हुम्ला, पुस २८। चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन ।

सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान कलबहादुर शाहीले आफ्नो स्याउ फार्ममा लगाएका बोटमध्ये तीनवटा ढकमक्क फुलेको बताए । उनको फार्ममा डेढ सय स्याउका बोट छन् ।

उनले तीन वर्षदेखि ती बोट पुसमै फुल्ने गरेको बताए । पहिलो वर्ष यही समयमा फुलेका बोटमा फलेका स्याउ जेठमा पाकेको जानकारी दिए । उनले गत वर्ष भने पुसमै फुले पनि हिमपातले सबै फूल झरेर फल नदिएको बताए।

पहिलो वर्षको स्याउ राम्रो उत्पादन भएको र स्वाद पनि मीठो भएको उनले सुनाए । उनले गत वर्ष पहिले फुलेर हिमपातले फूल झारेपछि चैतमा पुन फुलेको बताए। यी तीनबाहेक उनको बगैँचामा अन्य बोटमा टुसासमेत पलाएका छैनन् । फुलेका तीन बोटमा भने पातसमेत पलाइसकेका छन् । उक्त क्षेत्रमा अन्य किसानले पनि स्याउका बोट लगाउनुभएको छ तर कसैको पनि फुलेका छैनन् ।

उक्त क्षेत्र दुई हजार सात मिटर उचाइमा रहेको छ । ती स्याउका बोट रेड डेलिसियस जातका रहेका छन् । अघिल्लो वर्ष कमै फुलेको भए पनि यस पटक भने ती बोटमा धेरै फूल फुलेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot