Logo

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नु



काठमाडौं, २८ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।

‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए । उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ ।
नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको लामिछानेले बताए । यसका लागि योजना बनाइरहेको जानकारी गराए । उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उनको भनाइ छ ।

देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot