Logo

आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा



काठमाडौं, पुस २९। हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो ।

बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवं खगोलविद् डा सनतकुमार शर्माका अनुसार शुक्रबारदेखि करिब एक महिनासम्म यस पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । “आजभन्दा ५० हजार वर्षपहिले हिमयुगमा नेन्दरथल तथा हाम्रा पूर्वज ‘होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छ्रेतारा नै फेरि पृथ्वीको नजिक आएको हो”, उनले बताए।

यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नाङ्गो आँखाले अवलोकन गर्न सकिनेछ । यस पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलाद्र्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि भने दक्षिणी गोलाद्र्धमा बस्नेले समेत हेर्न सक्ने उनले जानकारी दिए ।

“यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ । सोही मुस्लो हरियो रङको पुच्छर आकारको देखिन्छ, यसैलाई हरियो पुच्छ्रेतारा भनिएको हो”, उनले भने ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार अमेरिकाको पालोमार वेधशालामा रहेको ज्विकी ट्रान्सिएन्ट फेसिलिटी (जेटीएफ)बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९६२ पटक अवलोकन गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्