Logo

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव



काठमाडौँ,२९ पुष । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् ।

भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो । स्थानान्तरणपछि बस्तीका प्रत्येक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न स्थानीयवासी दैनिक तीन किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको भनाइ छ ।

भूकम्पछि स्थानान्तरण भएको स्थान भिरालो जमिनमा भएका कारण अहिले निर्माण भएका घरसमेत चर्किएका छन् । विस्थापितलाई खानेपानी समस्यासँगै जीविकोपार्जनको चिन्ताले पनि सताएको छ । प्रतिपरिवार छ आना जमिन भएका उनीहरूलाई तरकारी खेती, पशुपालनलगायतमा समस्या भएको छ । “अन्न उत्पादनका लागि जमिन नहुँदा दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, स्थानीय सुकमाया बोम्जन दुःखेसो गर्छिन् ।

तर गाउँपालिका केन्द्र नजिकैको विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने गाउँपालिका अध्यक्ष झम्क नेपाल दाबी गर्छन् । “हामी विस्थापितको समस्याप्रति गम्भिर छौँ, चाँडै पानीको व्यवस्था गर्छौँ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्