Logo

‘राष्ट्रपति र सभामुख पनि नेकपा (माओवादी केन्द्र) लाई नै दिए भैहाल्छ नि !’



काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्भव भएसम्म राष्ट्रिय सहमतिमा अघि बढ्न चाहिरहेको बताएका छन् ।
‘प्रधानमन्त्रीज्यूको सुरुदेखिकै चाहना राष्ट्रिय सहमति हो । हिजो एमालेसँग एकखाले सहमति भएको हो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अर्कै परिस्थिति बनेको छ । देशको राजनीतिक अवस्था बदलिएको छ । हिजोभन्दा आज धेरै फरक परिसक्यो । सहमति भने पनि सबै कुरा ढुंगामा लेखेका अक्षर त होइनन् नि । अब उसलाई राष्ट्रपति दिएर हुन्छ कि सभामुख दिए हुन्छ, सँगै लैजाने प्रयत्न प्रधानमत्रीज्यूबाट हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले भने ।
प्रतिपक्ष नभएको र अधिकांश दलले सरकारलाइ समर्थन गर्नुले असम्भव कुरा केही नभएको उनको जिकिर छ । दाहालले भने, ‘नयाँ परिस्थितिबाट आत्तिन, मात्तिन र तर्सिन आवश्यक छैन । प्रचण्डलाई १३८ पनि आउँछ कि आउँदैन भन्ने थियो । दुई तिहाइ कसले सोचेको थियो र ? राष्ट्रिय सहमति भनेको केपी ओली पनि सहमतिमा आएपछि बन्ने हो । कसैलाई पेलेर घोक्राएर हुने भए त हामी कहाँ पुग्थ्यौं, पुग्थ्यौं नि । राजनीति सम्भावनाका खेल हो । कहाँ नेर सहमति हुन्छ, त्यही गर्ने हो । भएन भने के हुन्छ भन्ने त छँदै छ ।’
नेता दाहालले अब पाँच वर्ष माओवादी केन्द्रलाई देश जिम्मा दिए उचित हुने पनि औंल्याए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड हुँदै हुनुहुन्छ । अब देशै जिम्मा दिए भैहाल्यो नि । राष्ट्रपति र सभामुख पनि माओवादीलाई नै दिए हुन्न र ? हामी अरु पार्टीले जस्तो मूर्खता देखाउँदैनौं ।’
दुई दिन ढिलो भए पनि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । दाहालले थपे, ‘हो, १७ मन्त्रालय प्रचण्डले एक्लै चलाउनु परिराख्या छ । नेपालमा चार महिनासम्म मन्त्रिपरिषद् विस्तार नभएको इतिहास छ । जनताले मत दिने बेला यस्तै गरेपछि नेताले चाहेर मात्र हुँदो रहेनछ । अब यस्तै हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot