Logo

प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनुपर्छ भन्नु अनैतिक: शेरधन राई



काठमाडौं, ४ माघ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राई नेपाली कांग्रेस विपक्षी दलको समेत हैसियत गुमाएर नांगिइसकेको आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस अहिले अत्यन्त कमजोर र विवेक गुमाएको अवस्थामा छ । राष्ट्रिय सहमतिका नाममा उसले सत्ताका लागि ढोक्सा थापेको हाम्रा अध्यक्ष केपी शर्मा ओलीले बताइसक्नुभएको छ । विपक्षी दलको समेत हैसियत गुमाएर कांग्रेसले आफूलाई नंग्याइरहेको छ र च्याँखे दाउ थापिरहेको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राईले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एमालेसँगको पूर्वसहमतिबाहिर जान नसक्ने दाबी उनले गरे । राईले भने, ‘एमालेसँग माथिदेखि तलसम्मका सबै पदमा समझदारी भइसकेको छ, त्योभन्दा यताउता गर्ने अधिकार प्रधानमन्त्रीसँग छैन । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा गर्नुपर्छ । तर प्रधानमन्त्री त्यो तहमा पुग्नुहोला भन्ने मलाई लाग्दैन ।’
संविधान संशोधन गरेर विद्यादेवी भण्डारीलाई फेरि राष्ट्रपति बनाउन सकिने पनि उनले औंल्याए । ‘अहिले हाम्रो पार्टीले विद्यादेवी भण्डारीलाई नै फेरि राष्ट्रपति बनाउनेतिर सोचेको छैन । तर राष्ट्रपतिको रुपमा उहाँले राम्रो भूमिका निर्वाह गर्नुभएको छ । संविधान संशोधन गरेर उहाँलाई फेरि राष्ट्रपति बनाउन सकिन्छ,’ राईले भने ।
नेता राईले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री बनाउनुपर्छ भन्नु अनैतिक हुने पनि बताए । उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ तर निर्णायक दल नेकपा एमाले नै हो । केपी शर्मा ओली सुपर लिडर वा सुपर प्रधानमन्त्री हो । तालाचाबी उहाँको हातमा छ । प्रचण्डले पूर्व समझदारी अनुसार चल्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot