काठमाडौं, ४ माघ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले वर्तमान अवस्था र समयको माग अनुसार समाजलाई उद्योग तथा व्यवसायमैत्री बनाउनुपर्ने बताएका छन् ।
नेपाल वैदेशीक व्यवसायी संघको माघ ६ गते सम्पन्न हुन गइरहेको २९औं साधारणसभा तथा निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको व्यवसायी समुहको चुनावी भेलालाई आज (बुधबार) सम्बोधन गर्दै नेता बस्नेतले वैदेशीक रोजागर व्यवसायी भन्ने वित्तिकै नकरात्मक सोचलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । केही व्यक्तीले ल्याएको समस्यालाई सवै व्यवसायीलाई दोस दिन नहुने तर्क गर्दै नेता बस्नेतले समाज रुपान्तरणको लागि सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए ।
‘समाजलाई उद्योग र व्यवसायसँग जोड्दै देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ’, उनले भने, ‘वैदेशीक रोजगार व्यवसायी भन्ने वित्तिकै ठग्ने कार्य गर्छन भन्ने सोचलाई अन्त्य गर्नुपर्छ । केही गलत सोच बोकेका व्यवसायीकै कारण राम्रो कार्य गर्नेलाई एउटै डालोमा लगाएर नकारात्मक भ्रमहरु फैलाउनु हुँदैन ।’
नकारात्मक सोचले मुलुकको सकारात्मक रुपान्तरण सम्भव नहुने उल्लेख गर्दै उनले वैदेशिक रोजगारीमा धेरै समस्याहरु रहेको औंल्याए। समस्या समाधान गर्न वैदेशीक व्यवसायी संघ लाग्नुपर्ने उल्लेख गर्दै उनले आफूभित्र भएका कमजोरीहरुलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिए। राजकीय तथा शासकीय क्षेत्रमा विभिन्न प्रकारका भ्रमहरु रहेको उल्लेख गर्दै उनले ऐन तथा नियमहरु बनाउने क्रममा भ्रमहरु प्रकट हुने गरेकाले त्यसलार्ई समाधान गरी अगाडी बढ्नुपर्नेमा जोड दिए।
आगामी दिनमा मुलुकको विकास र समृद्धिको यात्रालाई नेतृत्व गरी अगाडी बढ्दै जनताको भौतिक विकासको साथ साथै अन्य जनताको माग, आवश्यकता र चाहनालाई पुरा गर्दै अगाडी बढ्नु अपरिहार्य रहेको उल्लेख गर्दै उनले आधुनिक प्रविधिको विकास आवश्यकता रहेको बताए ।
उद्योग, व्यवसाय र उत्पादनका क्षेत्रहरु बढाउनु पर्ने एमालेको कार्यभार रहेको उल्लेख गर्दै उनले समाजलाई सकारात्मक चेतनाको विकास गरी समाजलाई उद्योग तथा व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिए। उद्योग व्यवसायीलाई विस्थापन हुने कार्य नगरी प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उनले देशभित्र र विदेशमा जाने नेपालीलाई दक्ष बनाई रोजगारीको वातावरण थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
कतिपय मिडिया तथा राज्यले पनि उद्योग तथा व्यवसायलाई आतंक सिर्जना गराउने गरेको उल्लेख गर्दै उनले सूचना प्रविधि ऐन ल्याउनुपर्नेमा जोड दिए । व्यवसायीको मागलाई सम्बोधन गराउन आफ्नो र पार्टीको तर्फबाट सहयोग गर्ने उल्लेख गर्दै उनले व्यवसायीको मागलाई सम्बोधन गराउन अर्थमन्त्रीसँग तत्काल प्रकृया अगाडी बढाउन पहलकदमी लिने प्रतिवद्धता जनाए ।
प्रगतिशिल चेतना बोकेको नेतृत्व चुनावी मैदानमा आएकाले वैदेशीक क्षेत्रको समस्या समाधान गर्न सफल हुने र त्यसमा आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग हुने विश्वास उनको छ । file photo/ReportersNepal




प्रतिक्रिया