प्रधानमन्त्री प्रचण्ड फेब्रुअरीमा भारत भ्रमणमा जाने, विदेश सचिव क्वात्रा काठमाडौं आउँदै


काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी थालिएको छ । यसअघि नै प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने भनेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । दाहालको पहिलो विदेश भ्रमण भारत नै हुने करिब करिब निश्चित् भएको छ। यसको लागि भारतीय सरकारी संयन्त्र सक्रिय भएको छ।

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेशमन्त्री एस. जयशंकर नै नेपाल आउने तयारी थियो । तर, विशेष परिस्थितिका कारण उनी आउन नभ्याउने भएका छन् । अब विदेश सचिव विनयमोहन क्वात्रा छिट्टै नेपाल आउने भएका छन् । उनले प्रधानमन्त्री दाहाललाई भेटेर भ्रमणको निम्तो दिने भएका छन् ।

विशेष सूत्रका अनुसार प्रधानमन्त्री दाहालले फेब्रुअरीको पहिलो साता नै भारत भ्रमण गर्नेगरि तयारी अघि बढेको छ । विदेश सचिव क्वात्राले काठमाडौं बसाईको क्रममा परराष्ट्रमन्त्री डा. विमला पौड्याल राईसँग भेट्ने पनि कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग भेटवार्ताको कार्यक्रम छ ।

उनले प्रचण्डलाई भेटेरै भारत भ्रमणको निम्तो दिनेछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय च्यानलमा अन्वर्तार्ता दिने क्रममा प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउनु र अहिले भारतीय पक्षले तयारी थाल्नुले पनि यो पुष्टि हुने भएको छ । file photo