Logo

जनमत बाहिरिएपछि जसपा सरकारमा सहभागी हुने



काठमाडौं, ५ माघ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिने तयारीमा जुटेको छ। मन्त्रालय चित्तबुझ्दो नपाएको कारण जनमत सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको हो । जनमतका अध्यक्ष डा. सिके राउतले सरकारबाट बाहिरिने संकेत गरिसकेका छन् । उनले फेशबुकमार्फत शासक वर्गमाथि कडा प्रश्न उठाएका छन् ।

उनले आफूहरुको लागि सधैं सडकको विकल्प खुला रहेको पनि उल्लेख गरेका छन् । राउतको पार्टी सरकारबाट बाहिरिने भएसँगै उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा जाने बुझिएको छ । जसपाले हाल २ वटा मन्त्रालय पाएको छ । जनमत बाहिरिए तीन मन्त्रालयसहित जसपा सरकारमा सहभागी हुने चर्चा छ । जसपाले सभामुखका सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने जनाईसकेको छ ।

सभामुख निर्वाचन प्रक्रियामा भाग लिने क्रममा बोल्दै जसपाका सांसद प्रकाश अधिकारीले सो कुरा जनाएका हुन् । उनले घिमिरे नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको व्यक्ति भएको पनि चर्चा गरे । जसपाले सभामुखमा घिमिरेलाई मत दिने भएसँगै उसको सत्तारोहण अब निकट रहेको चर्चा छ ।

जनमतले आज/भोलिभित्रै सरकारबाट बाहिरिने तयारी गरेको छ । सरकारबाट जनमत बाहिरिनेबित्तिकै जसपाको सत्तारोहण भए आश्चर्य नमान्न बालुवाटारनिकट स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot